एमसीसीको विरोध गर्दै कांग्रेस र माओवादीबाट निर्वाचित वडाध्यक्षले त्यागे पार्टी


१९ फाल्गुन २०७८, बिहीबार
bahadur mahara bombahadur

काठमाडौं । अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेकोमा असन्तुष्टि जनाउँदै सत्तारुढ दलका दुई वडाध्यक्षले पार्टी परित्याग गरेका छन् ।

एमसीसीमा पार्टी नेतृत्वले आत्मसमर्पण गरेको र जनमत विपरीत पेलेर अनुमोदन गरेको भन्दै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमबहादुर तामाङ र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ मा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष बहादुरसिंह महराले पार्टी परित्याग गरेका हुन् ।

कांग्रेसबाट निर्वाचित तामाङले ‘लोकतान्त्रिक पार्टीले आम जनचाहनाविपरीत एमसीसी पास गर्ने, आम कार्यकर्ताहरुले भनेको कुनै पनि कुराको सुनुवाई नगर्ने, पेलेर लैजान खोज्ने, विधि विधानभन्दा व्यक्तिवादी सोच बढी हाबी हुने जस्ता अलोकतान्त्रिक क्रियाकलाप टुलुटुलु हेरेर बस्नुभन्दा पार्टीबाट विद्रोह गर्न अन्तरआत्माले भनेको’ उल्लेख गरेका छन् ।

अन्तरमनको निर्देशन, पार्टीका शुभेच्छुक, आम मतदाताको सल्लाहबमोजिम आफूले ३२ वर्षमा माया गरेको, रगत पसिना बगाएको कांग्रेस पार्टी परित्याग गर्न बाध्य भएको उनको भनाइ छ ।

त्यसै गरी माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष महराले दलाल सत्ता र त्यसका हिमायतीहरुले षडयन्त्रपूर्वक राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेको र यसले नेपाललाई अमेरिकी साम्राज्यवादको नवउपनिवेशमा घोषित रुपले समाहित गरेको आरोप लगाउँदै यसमा पार्टी र त्यसको मूल नेतृत्व प्रचण्डले आत्मसमर्पण गरेर पारित गर्न मुख्य भूमिका खेलेकाले परित्याग गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७