चीनसँगका व्यापारिक नाका निर्वाध सञ्चालन गर्न सरकार क्रियाशील छ : परराष्ट्रमन्त्री


२३ फाल्गुन २०७८, सोमबार
Narayan Khadka

काठमाडौं, २३ फागुन । सरकारले चीनसँगका व्यापारिक नाका चाँडो निर्वाध रूपमा सञ्चालन गर्न अथक प्रयास गरिरहेको बताएको छ।

सोमबार पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री नारायण खड्काले मालवाहक सवारीसाधनको सङ्ख्या बढाउनका लागि चिनियाँ पक्षसँग कूटनीतिक प्रयत्न भइरहेको बताए।

चीनसँगका व्यापारिक नाका निर्वाध ढङ्गले सञ्चालन नहुँदा मुलुकलाई आर्थिक रूपमा अप्ठ्यारो परेको तथा निर्यात ठप्प प्रायः हुँदा जटिलता थपिएकाले समस्याको शीघ्र निकासका निम्ति सरकारले बेइजिङसँग बारम्बार अनुरोध गरिएको खड्काको भनाइ छ।

चीनका विदेशमन्त्री वाङ यीसँगको टेलिफोन वार्ता तथा अन्य चिनियाँ अधिकारी र नेपालका लागि चिनियाँ राजदूतलाई आफूले व्यापारिक नाकाको प्रभावकारी सञ्चालनका निम्ति अनुरोध गरेको खड्काले बताए।

मन्त्री खड्काले नेपालको आग्रहलाई चीनले स्वीकार गरेर व्यापारिक नाकामा उत्पन्न समस्या समाधान गर्ने विश्वास व्यक्त गरे।

कोभिड(१९ को महामारीका कारण चीनसँगका प्रमुख व्यापारिक नाकामा केही समस्या भएको र त्यसलाई समाधान गर्न चीनले सकारात्मक जवाफ दिएको उल्लेख गर्दै उनले भने, ‘निर्वाध रूपमा आयातरनिर्यातको प्रक्रियागत तहमा सञ्चार र समन्वयका लागि दुई देशका स्थानीय अधिकारीबीच प्रत्यक्ष सम्पर्क स्थापना गरिएको छ।’


गोरखाको हिमाली भागलगायत सीमा क्षेत्रमा खाद्यान्न आपूर्तिमा सहयोग गर्न तथा नेपाली विद्यार्थीलाई पुनः चीन फर्कने वातावरण बनाउन पनि आफूले सबै उच्चस्तरीय भेटवार्तामा चिनियाँ पक्षलाई अनुरोध गरेको मन्त्री खड्काले जानकारी दिए।

समस्याको निकास वार्ता, शान्त कूटनीति

वर्तमान सरकारका न्यूनतम साझा कार्यक्रममा उल्लेख भएअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत सिमानासम्बन्धी भारतसँगका सबै समस्या वार्ताको माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको खड्काले बताए।

‘त्यस निम्ति हामीले शान्त कूटनीति अवलम्बन गरेका छौं,’ परराष्ट्रमन्त्री खड्काले भने।

भारतसँगको घनिष्ट एवं सहकार्यात्मक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफू लागिपरेको उल्लेख गर्दै उनले उच्चस्तरीय भ्रमणमा पनि उक्त विषयलाई प्राथमिकताका साथ नेपालले उठाइरहेको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे।

राजदूत नियुक्तिमा विलम्ब नहुने

सरकारले राजदूत नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको तथा बेलायत र अमेरिकाका लागि राजदूत नियुक्त भइसकेका, बाँकी देशहरूमा पनि चाँडै नियुक्ति गरिने खड्काले बताए।

परराष्ट्र सेवाबाट कम्तीमा पचास प्रतिशत राजदूत नियुक्ति गर्ने मन्त्रालयको नीतिप्रति आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।

सत्ता साझेदार राजनीतिक दलका महाधिवेशन तथा अन्य कारणले सबै देशमा एकैपटक राजदूत नियुक्तिका निम्ति सिफारिस गर्न नसकिएको पनि उनले बताए। अब राजदूत नियुक्तिको सिफारिसमा विलम्ब नहुने पनि मन्त्री खड्काको भनाइ छ।

युक्रेन सङ्कटः शक्ति प्रयोगको प्रतिवाद

संवाद र कूटनीतिक माध्यमबाट युक्रेन सङ्कटको समाधान खोजिनुपर्ने, त्यहाँ थप तनाव नबढाउन र सबैपक्षलाई अधिकतम संयमता अपनाउन नेपालले आग्रह गरेको स्मरण गराउँदै परराष्ट्रमन्त्रीले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न मुलुकविरूद्ध हुने शक्तिको प्रयोगको नेपालले प्रतिवाद गरेको बताए। उनले कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधान हुनुपर्ने नेपालको अडान दोहोर्‍याए।

युक्रेनबाट नेपालीको उद्धार

युक्रेनबाट ५३३ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका जानकारी दिँदै मन्त्री खड्काले उद्धारका निम्ति युक्रेनका लागि सहप्रमाणिकृत बर्लिनस्थित नेपाली राजदूतावास र मस्कोस्थित नेपाली राजदूतावासलाई परिचालन गरिएको जानकारी दिए।

युक्रेनबाट बाहिर निस्केकाहरूलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत ल्याउन बर्लिनस्थित नेपाली दूतावासबाट आवश्यक समन्वय भइरहेको पनि उनले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७