नेपाली ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठलाई ‘साहसी महिला’ पुरस्कार


२५ फाल्गुन २०७८, बुधबार

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को साहसिक महिला पुरस्कार नेपालकी भूमिका श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपालका यौनिक अल्पसंख्यकको हक अधिकारका क्षेत्रमा क्रियाशील भूमिका श्रेष्ठले पुर्‍याएको योगदानका लागि सो पुरस्कार दिइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (आईडब्ल्यूओसी) २०२२’ एलजीबीटीक्यूआई समुदायको जीवनमा सुधार ल्याउन खेलेकोमा भूमिकालाई उक्त पुरस्कार दिने भएको हो ।

उक्त पुरस्कार नेपालीले प्राप्त गरेको यो लगातार दोस्रो वर्ष हो । गत वर्ष यो पुरस्कार एसिड हमलाविरुद्धको कार्यका लागि मुस्कान खातुनले प्राप्त गरेकी थिइन् । वार्षिक रूपमा हुने आईडब्ल्यूओसी पुरस्कार कार्यक्रमको आयोजना अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिङ्कनले एक भर्चुअल समारोहमार्फत गर्नेछन् ।

आउँदो फागुन ३० गते सोमबार नेपाली समयानुसार साँझको ७ः४५ प्रशारण हुने उक्त कार्यक्रममा अमेरिकी प्रथम महिला डा. जिल बाइडनले मन्तव्य दिने भएकी छन् । सन् २००७ को मार्चदेखि हालसम्म अमेरिकी विदेश मन्त्रालयले ८० भन्दा धेरै देशका १७० बढी महिलाहरूलाई आईडब्ल्यूओसी पुरस्कारबाट सम्मानित गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७