भुवनलाई सूर्य नेपाल एनपीजीए गल्फको उपाधि


२६ फाल्गुन २०७८, बिहीबार
Bhuwan Nagarkoti Match Play Winner

काठमाडौं, २६ फागुन । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको चौथो इभेन्ट सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि भुवन नगरकोटीले जितेका छन् ।

३६ होलमा खेलिएको फाइनलमा शीर्ष स्थानको भुवनले चौथो वरियताका सञ्जय लामालाई ३ र २ ले हराएका थिए । सञ्जयले ९ होल पछि २–अप गरेका थिए भने भुवनले १८ होल पछि एकमा घाटा घटाए । भुवनले २७ होलपछि पहिलो पटक १–१ को अग्रता लिएका थिए भने ३० होलपछि तीनको अग्रता बढाए । दुबै गल्फरले अर्को चार होल सेयर गरे र भुवनले दुई होल बाँकी रहँदा विजय पूरा गरे ।

भुवनले आफ्नो करियरको आठौं र सूर्य नेपाल गल्फ टुर २०२१–२२ सिजनमा पहिलो उपाधि जितेका थिए । ट्रफीसँगै भुवनले ५० हजार रुपैयाँ प्राप्त गरे । उपविजेता सञ्जयले ३० हजार रुपैयाँ हात पारे । पाँचौं वरियताका धनबहादुर थापाले तेस्रो स्थानका विकास अधिकारीलाई फाइनल होल (टु–अप) मा पराजित गर्दै तेस्रो स्थान हासिल गरेका छन् । धनले २२ हजार र विकासले १८ हजार प्राप्त गरे ।

क्वार्टरफाइनलमा पराजित भएका चार जना दिनेश प्रजापति, रामे मगर, जयराम श्रेष्ठ र दीपक मगरले जनही १० हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरी पहिलो राउण्डमा हारेका आठ खेलाडी सचिनप्रसाद भट्टराई, सूर्यप्रसाद शर्मा, बल भद्र राई, भुवनकुमार रोक्का, कृष्णमान राजबाहक, रवि खड्का र शिवकुमार माझीले ५–५ हजार रुपैयाँ प्राप्त गरे ।

अर्डर अफ मेरिट अफ सूर्य नेपाल गल्फ टुर २०१८–१९ सिजनका शीर्ष १६ व्यावसायिक गल्फरहरू प्रतियोगितामा सहभागी हुन योग्य थिए । दोस्रो वरियताका शिवराम श्रेष्ठ र १४औं वरियताका दीपक आचार्यले प्रतियोगितामा भाग लिएनन् र एनपीजीएले १७औं वरियताका शिवकुमार माझी र १८औं वरियताका सचिन भट्टराईलाई ड्रमा स्थान बनाउन अनुमति दिइएको थियो ।

प्रतियोगिताका विजेताहरुलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दिप्रा लाहिरी र आरएनजीसीका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल पीजीएले आयोजना गरेको प्रतियोगितामा दुई लाख नगद रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७