सुदूरपश्चिम सरकारमा कांग्रेस पनि सहभागी हुन्छ, माधव नेपालले त्याग गर्नुपर्छ : प्रचण्ड


३० फाल्गुन २०७८, सोमबार
Prachand 1024x549 1

कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने विषयमा छलफल अगाडि बढिसकेको बताएका छन् ।

पार्टी प्रशिक्षण कार्यक्रमका लागि सोमबार बिहान धनगढी पुगेका प्रचण्डले गेटा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस समेत सहभागी हुने विषयमा गठबन्धनका दलहरुबीच कुराकानी भइरहेको बताएका छन् ।

‘गठबन्धनमा यो विषयमा छलफल भएको छ,’ उनले भने, ‘कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन, यो विषयमा बैठकमा कुरा भएको छ । तर सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकोले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्‍यो भनेर अनुरोध गरिएको छ ।’

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा यो विषयमा छलफल गर्ने बताएको समेत प्रचण्डले जानकारी दिए । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व फेर्ने विषयमा समेत गठबन्धनमा छलफल भएको उनले बताए ।

‘माधवजीहरुले ठूलो दलको हैसियतमा प्रदेशको नेतृत्व उनीहरुलाई दिनुपर्ने कुरा गर्नु भएको छ,’ प्रचण्डले भने, ‘तर त्यो हो भने हामी सबैभन्दा बढी भएको बागमती हामीलाई दिने सहमति गरौैं भनेर हामीले कुरा गरेपछि अहिले नेतृत्व नफेर्ने कुरा भएको छ ।’ अध्यक्ष प्रचण्डले गठबन्धन दलहरुबीच सल्लाह गरेर कांग्रेसलाई भने सरकारमा सहभागी गराउने वातावरण बनाइने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७