एकै जना सांसद नभए पनि गण्डकी प्रदेश सरकारमा नेकपा ‘एस’ लाई ल्याउने तयारी


४ चैत्र २०७८, शुक्रबार
pradesh 4

कास्की । सत्तारुढ नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई गण्डकी प्रदेश सरकारमा ल्याउने तयारी भएको छ । सुदूरपश्चिम सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराउने तयारी भएसँगै गण्डकी प्रदेश सरकारमा पनि नेकपा एसले जाने तयारी गरेको हो ।

गण्डकी प्रदेशमा नेकपा एसको एक जना पनि सांसद छैन । सांसद नै नभए पनि मुख्यमन्त्रीले कुनै पनि व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन पाउने प्रावधानमा टेकेर नेकपा एस सरकारमा जाने तयारीमा रहेको हो ।

नेकपा एसलाई सरकारमा लैजानेबारे गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । छलफल चलेको लामो समय भएपनि निस्कर्षमा भने पुगिनसकेको श्रोतको दाबी छ । सातै प्रदेशमा गठबन्धनका दलहरुलाई सरकारमा सहभागि गराउने प्रयास अन्तर्गत सुदूरपश्चिममा कांग्रेसलाई र गण्डकी प्रदेशमा नेकपा एसलाई सहभागि गराउने तयारी भएको नेताहरुले बताएका छन् ।

नेकपा एसका गण्डकी प्रदेश ईञ्चार्ज केशवलाल श्रेष्ठले गण्डकी प्रदेश सरकारमा सहभागिताबारे शीर्ष नेताहरुबीच छलफल भइरहेको पुष्टि गरे । उनले भने, ‘छलफल पहिलेदेखि नै भइरहेको हो, त्यहि अन्तर्गत हाम्रो नेतृत्वको सरकार भएको सुदूरपश्चिममा कांग्रेसलाई सहभागि बनाउने तयारी छ ।’ उनले सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागि भए गण्डकी प्रदेश सरकारमा पनि नेकपा एस सहभागि हुनुपर्ने बताए । त्यसका लागि शीर्ष नेतृत्वबीच छलफल भइरहेको उनको भनाई छ ।

गण्डकी सरकारमा सहभागि हुनेबारे नेकपा एस पार्टीको आन्तरिक छलफलमा जुटेको छ । नेकपा एसभित्र सरकारमा जाने मन्त्रीको नाम बारे पनि छलफल सुरु भएको श्रोतको दाबी छ । मन्त्रीका लागि धेरै नै आकांक्षी भएपनि कास्कीका श्रीनाथ बराल र तनहुँका प्रतापलाल श्रेष्ठ मध्ये एकजना सरकारमा जाने सम्भावना रहेको श्रोतले बताएको छ । ‘छलफलमा धेरै जनाको नाम आएको थियो, ईञ्चार्ज श्रेष्ठले भने, ‘अहिले नै सरकारमा सहभागि हुने मन्त्रीको नाम नै टुंग्याउनेबारे छलफल भएको छैन ।’

श्रेष्ठले सरकारमा सन्तुलन कायम गर्न पनि नेकपा एसलाई गण्डकी सरकारमा सहभागि गराउनुपर्ने बताए । ‘हुने-नहुने टुंगो छैन,’ उनले भने, ‘सुदूरपश्चिममा कांग्रेस कमजोर छ, त्यहाँ उसलाई मन्त्री दिनुपर्छ भने यहाँ हामी कमजोर भएको ठाउँमा पनि हामीलाई सरकारमा सहभागि गराउन मन्त्री दिनुपर्छ ।’

मन्त्रीका लागि छलफलमा नाम आएका बराल कास्कीका हुन् । उनले पोखराको मेयरको टिकट वा मन्त्री आफूले पाउनुपर्ने दाबी गरेका छन् । कास्कीका पुराना तथा ईमान्दार नेताका छवी बनाएका उनी एमालेमा रहँदा ओली गुटको छायाँमा पर्दै आएका थिए । ओली समूहले पटक-पटक टिकट नदिँदा रुष्ट उनी पार्टी फुटेसँगै माधव नेपाल समूहका नेतृत्व गर्दै आएका छन् । बराल निकट श्रोत भन्छ, ‘उहाँले मन्त्री वा मेयरको टिकट माग्नु भएको छ, दुईमध्ये एक सायद सुनिश्चित हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७