विप्लव नेकपाको आज पनि बैठक बस्दै, निर्वाचनमा भाग लिने गर्ला निर्णय ?


५ चैत्र २०७८, शनिबार
Biplav Meeging

काठमाडौं । हतियारको राजनीति छाडेर मूलधारको शान्तिपूर्ण राजधानीमा प्रवेश गरेको विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक आज (शनिबार) पनि बस्दैछ । कपिस्वस्तुमा शुक्रबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकले चुनावबारे कस्तो निर्णय लेला भन्ने चासो राजनीतिक वृत्तमा रहेको छ ।

महासचिव विप्लवले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर अघि बढ्ने उल्लेख गरिएको छ । नेकपा स्रोतका अनुसार विप्लवले केन्द्रीय सदस्यहरुलाई वितरण गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर जानुपर्ने उल्लेख गरिएको छ ।

सोही राजनीतिक प्रतिवेदनमाथि आज छलफल हुने बताइएको छ । प्रतिवेदनमा अन्य विषयहरु पनि रहेको तर विशेष निर्वाचनलाई केन्द्र बनाइएको स्रोतले जानकारी दिएको छ । बैठकमा त्यसै विषयमा गहन छलफल हुने बताइएको छ । शुक्रबारको बैठकमा ६९ जना केन्द्रीय सदस्य र चार जना सल्लाहकारको उपस्थिति थियो ।

यसैबीच नेकपा एमालेका नेता योगेश भट्टराईले विप्लवले आगामी निर्वाचनमा भाग लिन गरेको प्रस्ताव वस्तुवादी र सही भएको बताएका छन् । नेता भट्टराईले विप्लवको सो प्रस्ताव नेपाली धर्तीको मार्क्सवादी विचार भएको भन्दै प्रशंसा समेत गरेका छन् ।

सञ्जालमार्फत नेता भट्टराईले भनेका छन्, ‘कमरेड नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टीको बैठकमा आगामी निर्वाचनमा पार्टीले भाग लिने प्रस्ताव गर्नुभएछ । यो अत्यन्तै वस्तुवादी र सहि प्रस्ताव हो । नेपाली धर्तीको मार्क्सवादी विचार पनि हो ।’
भट्टराइले अन्ततः सबै कम्युनिष्टहरुको बाटो यही भएको र यही बाटोबाट समाजवादसम्म पुग्न सकिने दाबी गर्दै चालीसको दशकबाटै एमालेले पनि यही स्वरुप अबलम्बन गर्दै यहाँसम्म आइपुगेको बताएका छन् ।

उनले भनेका छन्, ‘करिब ४० को दशकबाट आन्दोलनका वस्तुवादी स्वरुप अवलम्बन गर्दै जनताको बहुदलीय जनवाद हुँदै आजको नेकपा एमाले निर्माण भएको हो । बुर्जुवाहरूसँग प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै शान्तिपूर्ण र वैधानिक तरिकाबाट नेपाली समाजको प्रगतिशिल रुपान्तरण नै आजको मुख्य कार्यदिशा हो । अन्ततः सबै कम्युनिस्टहरूको बाटो यही हो र यही बाटोबाट समाजवादसम्म पुग्ने हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७