सात वायुसेवा कम्पनीलाई बक्यौता रकम बुझाउन प्राधिकरणको ताकेता


६ चैत्र २०७८, आईतवार
CAAN Nagarik Udyan Pradhikaran1629280999

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बन्द भइसकेका वायुसेवा कम्पनीहरुलाई बक्यौता रकम तत्काल चुक्ता गर्न ताकेता गरेको छ । कम्पनी बन्द भइसके पनि बक्यौता रकम रहेकाले तत्काल बुझाउन प्राधिकरणले सात कम्पनीका सञ्चालकहरूलाई ताकेता गरेको हो ।

पटक-पटक बक्यौता रकम बुझाउन आग्रह गर्दा पनि चुक्त गर्न नआएको भन्दै प्राधिकरणले अन्तिम पटक सात दिनको समय तोकेर आज सातवटा वायुसेवा कम्पनीलाई बक्यौता रकम चुक्ता गर्न ताकेता गरेको हो ।

वायुसेवा कम्पनी तथा सञ्चालकहरुले बुझाउनु पर्ने बक्यौता रकम बुभाउन पटक- पटक पत्राचार गर्दा पनि बक्यौता चुक्ता गर्न नआएपछि प्राविधकरणले २०७६ आसोज, २०७७ माघ र २०७८ भदौमा सार्वजनिक सूचनाहरु प्रकाशित गर्दै वायुसेवा कम्पनी तथा संचालकहरुलाई बक्यौता चुक्ता गर्न आग्रह गरेको थियो ।

‘प्राधिकरणले असुल गर्नुपर्ने रकम नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २७ वमोजिम सरकारी वाँकी सरह प्राधिकरणले असुल उपर गर्न पाउने अधिकार प्राधिकरणमा सुरक्षित छ । विमानस्थल सेवा शुल्क नियमावली २०६७ को नियम ३० (३) अनुसार प्राधिकरणलाई बुझाउनु पर्ने शुल्क नबुझाउने व्यक्ति तथा संस्थाहरुलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसंग सम्बद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालो सूचीमा राख्ने अधिकार प्राधिकरणमा रहेको छ ।’

प्राधिकरणले भनेको छ, ‘प्राधिकरणबाट कारबाही अगाडि बढाउने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र प्राधिकरणलाई तिर्न बुझाउन बाँकी रहेको वाँकी बक्यौता रकम उल्लेखित वायुसेवा कम्पनीहरुले प्राधिकरणको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, काठमाण्डौको जम्मा गरी सक्कल भौचर यस प्राधिकरणको प्रधान कार्यालय, अर्थ विभागमा बुझाई बक्यौता रकम फरफारक गर्न योसूचना प्रकाशित गरिएको छ ।’

प्राधिकरणले कुनै वायुसेवा कम्पनी वा संचालकले आफूले बक्यौता रकम तिर्नु नपर्ने भए प्रमाणसहित प्राधिकरणमा निवेदन दिन पनि आग्रह गरेको छ । सात दिन भित्र बुझाउनु पर्ने बक्यौता रकम नबुझाए वायुसेवा कम्पनी र संचालकहरुलाई विमानस्थल सेवा शुल्क नियमावली, २०६७ को नियम ३० (३) बमोजिम कारवाही गर्ने प्राधिकरणले जनाएको छ ।

‘नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २७ बमोजिम प्राधिकरणले वायुसेवा कम्पनी र संचालकहरु तथा उनका हकदारहरु समेतको बैंक खाता रोक्का गरी नेपाल बाहिर जान नपाउने गरी राहदानी रोक्काको कारबाही गरी चल अचल जायजेथावाट असुल उपर गरिनेछ’, सूचनामा प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणका अनुसार बक्यौता रकम चुक्ता नगर्ने वायुसेवा कम्पनीहरुमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरेवज र एयर काष्टमण्डप छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७