बैसाख ९ देखि शुरु हुने एसइईका लागि दुई हजार २७ परीक्षा केन्द्र


६ चैत्र २०७८, आईतवार

काठमाडौं । वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारीमा स्थानीय सरकार जुटेको छ । वैशाख ९ देखि वैशाख २० गते सम्म सञ्चालन हुने एसइई परीक्षाका लागि सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले पाएसँगै प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा सात वटै प्रदेशमा पाँच सदस्यीय परीक्षा व्यवस्थापन समिति गठन भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सातवटै प्रदेशबाट यस पटक कुल चार लाख ९४ हजार छ सय ८१ परीक्षार्थीले दुई हजार २७ परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन् । प्रदेश परीक्षा समितिलाई परीक्षाको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी दिन बोर्डले आफ्नो राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ को पहिलो संशोधन गरिसकेको उनले जनाए ।

यस पटकको परीक्षा विद्यार्थीले परीक्षा केन्द्रमा पुगेर भौतिक उपस्थितिकै आधारमा परीक्षा दिनेछन् । ‘माघ २४ गते मन्त्रिपरिषद्ले एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनको अधिकार प्रदेशलाई दिने निणर्य गरेसँगै बोर्डले पनि राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ को पहिलो संशोधन गरी प्रदेशलाई दिने व्यवस्था गरेको छ’, अध्यक्ष शर्माले भने ।

उनले भने, ‘प्रदेश सरकारको शिक्षा हेर्ने मन्त्रालयको सचिवको संयोजकत्वमा प्रदेश एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति सातै प्रदेशमा गठन हुने व्यवस्था गर्ने निणर्य भएको छ। राष्ट्रिय परीक्षा बोर्डको प्रदेश परीक्षा बोर्ड कार्यालयको प्रमुख, प्रदेश शिक्षा निर्देशनालयको निर्देशकसहित रहेको ५ सदस्यीय एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति रहने छ । यो समितिले हालसम्म बोर्डले गर्दै आएको परीक्षाअघिको सम्पूणर् तयारी जस्तै केन्द्र तोक्ने, केन्द्राध्यक्ष तोक्ने, उत्तरपुस्तिका परीक्षण, संपरीक्षण गराई तथ्यांक प्रविष्ठ गर्ने काम गर्छ । प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डमा पठाएको नतिजाको अधारमा नतिजा तयार गरी प्रकाशन गर्ने काम मात्र गर्छ ।’

उनले प्रदेश सरकारको परीक्षा समितिले परीक्षा सञ्चालन र व्यवस्थापनको काम गर्दा बोर्डसँग सहकार्य गरी गर्नुपर्ने जनाए। बोर्डले परीक्षाको लागि विद्यालय, शिक्षक तथा परीक्षाको अन्य आवश्यक काममा सहजीकरण गर्नेछ।

‘वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने एसइई परीक्षा नयाँ व्यवस्थाअनुसारै सञ्चालन तथा व्यवस्थापन हुन्छ,’ उनले भने, ‘विगतमा बोर्डले सबै परीक्षार्थीको एकैचोटी नतिजा प्रकाशन गर्नेजस्तो योपटक हुँदैन । सात वटै प्रदेशको नतिजा फरकफरक समयमा आउँछ । प्रदेशले नतिजा प्रकाशनको सबै तयारी गरी बोर्डमा पठाए अनुसार बोर्डले नतिजाको तयारी गरी नतिजा प्रकाशन गरिदिन्छ । नियमले गर्नसक्ने काम बोर्डले नै गर्छ । राष्ट्रिय परीक्षा बोर्ड एसइईलाई विकेन्द्रीकरण गर्न प्रतिबद्ध छ ।’

अध्यक्ष शर्माका अनुसार बोर्ड हाल प्रश्नपत्र छपाइको कार्य गरिरहेको छ । ‘यसपटक पहिलो पटक जापानको विद्यालयमा पनि एसइई हुने तय भएको छ,’ अध्यक्ष शर्माले भने । ‘यसपटक जापानको एक विद्यालयमा प्रश्नपत्र इमेलबाट पठाइन्छ । जापानमा १९ विद्यार्थीले यसपटक एसइई दिँदैछन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७