सुखीहरूको गाउँ ‘घलेगाउँ’


९ चैत्र २०७८, बुधबार
Ghalegaun scaled

लमजुङ । ‘मैले जन्मेर हुर्केको गाउँ, मैले घाँसदाउरा गरेको गाउँ, स्वर्गभन्दा प्यारो लाग्छ मेरो घलेगाउँ’ (तेजबहादुर घिगाल, गणेश गुरुङ र रिमा गुरुङ) ।

शीरमा सेतो हिमाल, मध्य भाग जङ्गल अनि फेदमा घलेहरूको बाहुल्य- घलेगाउँ विविधताको सङ्गम हो । प्रकृतिले सिंँगारिदिएको र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण घलेगाउँ अहिले लमजुङको सुखी गाउँका रूपमा परिचित बन्दै छ । पर्यटकलाई खुसी बनाउँदै पर्यटकीय सत्कारमा रमाउन थालेका यहाँका बासिन्दा यतिबेला मापदण्ड पूरा गर्दैे गाउँलाई नै सुखी गाउँ बनाउन लागिपरेका छन् ।

जिल्लामा सबैभन्दा बढी पर्यटक यसै गाउँमा आउँछन् । मुलुकमा जनान्दोलनपछि आन्तरिक पर्यटकको वृद्धि हुन थालेपछि घलेगाउँबासी खुसीले गद्गद् छन् । उनीहरू पर्यटकका लागि रातदिन नभनी मेहनत गर्छन् जसको पहिलो प्राथमिकता भनेकै गाउँमा आएका पर्यटकलाई खुसी बनाउनु हो । क्ह्वालासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेका नेतृत्वमा अघि बढ्दै आगामी वैशाख २ गते गाउँलार्ई ‘सुखी घलेगाउँ’ घोषणा गर्ने तयारीमा गाउँबासी लागेका छन् ।

पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुरका अनुसार सडक, खानेपानी, स्वास्थ्य र शिक्षा केही नभएको गाउँलाई कसरी सुखी बनाउन सकिन्छ भनेर आफूले दुई दशकअघि सोचेको योजना अहिले पूरा हुन लागेको बताए । ‘म भारतीय सेनामा भर्ती हुन पुगेर पनि गाउँ फर्केँ । स्याङ्जा जिल्लाको सिरुबारीका घरमा पाहुना राख्ने र गाँस र बास दिएबापत पैसा लिने गरेको सुनेँ । के कसरी रहेछ भन्ने जिज्ञासाले अध्ययन गर्न त्यहाँ पुगेँ र मैले पनि गाउँमा पाहुना राख्ने र गाउँलेलाई दुईचार पैसाको मुख देख्न सक्ने बनाउने योजना बुनें’, उनले भने ।

घले, गुरुङ र दलित समुदायको बसोबास रहेको घलेगाउँमा १२५ घर रहेकामा प्रतिघरको वार्षिक आम्दानी सरदर रु पाँचदेखि छ लाख र रु एक लाखदेखि डेढ लाखसम्म वार्षिक बचत हुने गरेकाले र मापदण्ड पूरा गरेकाले गाउँलाई सुखी गाउँ घोषणा गर्न लागिएको समितिको कार्यालय सचिव दीर्घराज घलेले जानकारी दिए । ‘घरमै बसीबसी आम्दानी भएपछि हामी सबै खुसी र सुखी छौं’, उनले भने ।

विसं २०५७ वैशाख २३ गते ‘प्रथम घलेगाउँ महोत्सव’ गरी नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ का रूपमा अघि बढ्दै गरेको घलेगाउँका १२ घरमा सुरुमा पर्यटन प्रयोजनका लागि घरबास कार्यक्रम स्थापना भई प्रचारप्रसार भएपछि विसं २०५८ वैशाखमा ‘घलेगाउँ कला महोत्सव’ आयोजना गरिएको थियो ।

मान्छेहरूको भीडभाड हुने भएकाले सुरुमा तत्कालीन द्वन्द्वमा संलग्न माओवादीहरूले कार्यक्रम गरेको प्रति आपत्ति जनाएकामा पछि पर्यटन प्रवद्र्धनबारे कुरा बुझेपछि कुनै रोकतोक नभएको समितिका अध्यक्ष प्रेमबहादुरले बताए । पछि बिस्तारै घलेगाउँमा पाहुना आउन थाले । प्रकृति, संस्कृति र रहनसहन देखाई गाउँमै उत्पादित खाद्य पदार्थ खुवाएर उनीहरूले आम्दानी गर्न थाले । बिस्तारै घलेगाउँबारे देश विदेशमा प्रचारप्रसार हुँदै गयो ।

दक्षिण एसियाली राष्ट्रहरूको सङ्गठन (सार्क) स्थापनापछिको केही समयमै सुरुका सदस्य राष्ट्र हरेकमा नमुना ‘सार्क भिलेज’ घोषणा गरिएअनुसार नेपालको लमजुङ जिल्लाको उत्तरी भेगमा अन्नपूणर् हिमालका काखमा अवस्थित क्होलासोथर गाउँपालिका वडा नं ३ स्थित ऐतिहासिक घलेगाउँलाई नेपालको नमुना ‘सार्क भिलेज’ मा छनोट गरिएको थियो ।

यहाँ सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायत आधारभूत सुविधा पुगेपछि विसं २०७५ पुस १० गते ‘स्मार्ट भिलेज’ अभियान सुरुआत गरिएकामा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७६ मंसिर १७ गते विधिवत् रूपमा नामकरण गरी शुभारम्भ गर्नुभएको थियो । गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेका रूपमा पनि यसलाई पुरस्कृत गर्‍यो । घलेगाउँका बासिन्दा एवं घरबास पर्यटन सञ्चालक हेमकुमारी घलेले भनिन्, ‘विगतमा यहाँका बासिन्दालाई दुईचार पैसाको मुख देख्नदेखि स्वास्थ्य शिक्षा, यातायात, खानेपानी, इन्टरनेटलगायत समस्या थियो तर अहिले सबै सुविधा उपलब्ध हुँदै गएकाले उनीहरू सुखी हुन थालेका छन् ।’

गाउँमा दैनिक आउने पर्यटकमार्फत आम्दानी भई यहाँका बासिन्दाको आयस्रोतमा वृद्धि हुँदै जाँदा तिनलाई पैसाको अभाव हुँदैन । यहाँका ९० प्रतिशत जनसंख्यालाई आम्दानीका लागि अन्य दुःख गर्नै नपरेको अध्यक्ष प्रेमबहादुर बताउँछन् । अधिकांश वस्तु गाउँमै उत्पादन हुन्छ । समितिका सचिव उमलबहादुर विकका अनुसार अन्य घरका बासिन्दाले भने पर्यटकलक्षित व्यापार-व्यवसाय गरेका छन् ।

स्थानीयवासीले निगालोको चोया, भेंडाको ऊन, अल्लोबाट हस्तकलाका सामग्री तयार गरेर बिक्रीवितरण गर्ने छन् । घरबासमा आएका पर्यटकले ती वस्तु खरिद गरेबाट समेत थप आम्दानी भई आयस्रोत वृद्धि हुँदै गएको स्थानीयवासी बताउँछन् । पर्यटक वृद्धि हुँदै गएको घलेगाउँमा विसं २०७३ माघ २२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले परम्परागत गुरुङ सङ्ग्रहालय उद्घाटन गरेपछि झन् बढी पर्यटक पुग्न थालेका छन् । घरबास सञ्चालकले घरमै बसीबसी पर्यटक आगमन हुँदा महिनामै रु ४० देखि रु ७० हजार आम्दानी गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारले घलेगाउँको प्रवद्र्धनका लागि आव २०७५। ७६ मा रु २९ लाख ४६ हजार र क्ह्वालासोथर गाउँपालिकाले रु १५ लाख विनियोजन गरेका थिए ।

पर्यटन व्यवसायबाट गाउँलेले बर्सेनि करोडौँ रुपियाँ आम्दानी गर्दै परिवारको भविष्य बनाउनेदेखि गाउँको विकासमा टेवा पुर्‍याएका छन् । बाइसे-चौबिसे राज्यकालमा घले राजाले यस ठाउँमा शासन गरेका थिए । स्थानीयवासीका अनुसार घले राजाले शासन गरेको र घले जातिको बाहुल्य भएकाले गाउँको नाम नै घलेगाउँ रहन गएको हो । सात सय वर्ष पुरानो मानिएको घलेगाउँलाई गुरुङ भाषामा ‘कोइम्ली’ भनिन्छ । यहाँ अन्तिम राजा क्याल्बोरोजा क्लेको सालिक निर्माण गरिएको छ । गुरुङ जातिको कर्मकाण्ड, वेद तथा अन्य शास्त्र सिक्ने र सिकाउने पाठशाला ‘क्होइँबो’ पनि यहाँ निर्माण गरिएको छ ।

कोइम्लीका ४२ घरमा हाल घरबास कार्यक्रम सञ्चालनमा छ । गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला, गुच्छा र खादा चढाइन्छ । पर्यटकलाई गुन्द्रक, मकै, भटमास, कोदोको सेलरोटी, चियालगायत परिकार खुवाइन्छ । पर्यटकका लागि गुरुङसंस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरी भरपूर मनोरञ्जन दिलाइन्छ ।

पाहुना तथा पर्यटकलाई समाज घरमा लगेर गुरुङ संस्कारमा आधारित कृष्णचरित्र नाच, घाँटु, घ्याबे्र, लामा, सोरठीलगायत विभिन्न परम्परागत नृत्यहरु प्रस्तुत गर्नु घलेगाउँबासीको परम्परा हो । घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार २५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एकएक छाक मांसाहारी र शाकाहारी भोजन पाइन्छ । बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् ।

प्रकृतिले सिंँगारिदिएको घलेगाउँबाट छ हजार ९८६ मिटर उचाइको लमजुङ हिमाल, सात हजार ९३५ मिटर उचाइको मा अन्नपूणर् हिमाल ९दोस्रो०, अन्नपूर्ण हिमाल९चौथो०, छ हजार ९६३ मिटर उचाइकोको माछापुच्छे्र हिमाल, आठ हजार १६३ मि उचाइको मनास्लु हिमाल, सात हजार ८९३ मि उचाइको हिमालचुली, सात हजार ८३५ मि उचाइको ङादीचुली (डा. हर्क हिमाल) र छ हजार ६७२ मि उचाइको बुद्ध हिमाल देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको दृष्यावलोकन, गुरुङ समुदायको परम्परागत गुरुङ घर, गुरुङ सङ्ग्रहालय, क्वोइबो धीं, घले राजाको सालिक, सात कुवा, चिया बगान, भीर मौरी, वनझाँक्री छहरालगायत स्थानसमेत घलेगाउँको विशेषता हो ।

घलेगाउँको अर्को विशेषता हस्तकला पनि हो । गाउँबासीले दैनिक जीवनमा आवश्यकता पर्ने कतिपय वस्तु आफँै तयार गर्छन् । भेंडाबाख्राको ऊनबाट राडीपाखी, बख्खु, अल्लोको धागोबाट भाङ्ग्रा, झोला, थैलो, नियालाको चोयाबाट डोको, नाम्लो, भकारी, थुन्से, घुम जस्ता वस्तु तयार गरिन्छ । धान कुट्ने ढिकी, मकै, कोदो पिस्ने जाँतो, ढुङ्गा, रातो रङका जस्तापाता र खरले छाएको घरको छाना, भर्‍याङ, ढोकामा कुँदिएको कला तथा परम्परागत घुमाउरो घरमा प्रयोग भएका स्थानीय सीप पाहुना तथा पर्यटकलाई नौलो लाग्न सक्छ । यहाँ पुराना शैलीका घुमाउरो घर, बाक्लो घले (गुरुङ) बस्ती अनि चौबिसै घण्टा पानी, बिजुली र वाइफाइको व्यवस्था छ ।

स्थानीयवासीले यहाँ आउने पर्यटकलाई गाउँघरमै उब्जाइएका जैविक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय कुखुरा, खसीबोका, भेंडाको मासुलगायत परिकार खुवाउने गर्छन् । लमजुङ तथा विशेष गरी क्होलासोथर गुरुङ जातिको उद्गमस्थल हो । यही नामबाट क्होलासोथर गाउँपालिका छ । पुर्खौँपुर्खादेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयवासीको आफ्नै मौलिक कला, भाषा, संस्कार, संस्कृति छ । स्वच्छ हावापानीमा रमाएको गुरुङ समुदायको लमजुङमा बाक्लो बस्ती तथा बसोबास छ । एकैठाउँमा गुचमुच्च भएर बस्न रुचाउने गुरुङ समुदायभित्र एकता पनि छ । पहिले रोधी हुँदै सामूहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा र बाबा समूह, युवा क्लबमार्फत गाउँ विकासमा लागेका छन् ।

जिल्ला सदरमुकाम बेँसीसहरबाट पैदलयात्रा गरेमा समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको घलेगाउँ ६ घण्टा र सवारी साधनमा गए डेढ घण्टामै पुगिन्छ । काठमाडौंँबाट तनहुँको डुम्रे बजार हुँदै बेंसीसहरसम्मको १७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहर ११० किमीको दूरीमा छ । त्यस्तै बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ । कालोपत्रे गर्दै गाउँसम्म पुर्‍याउनका लागि काम अघि बढिरहेको छ । केही वर्षभित्रै कालोपत्रे सम्पन्न भएपछि यात्रा अझै सहज र छिटो हुनेछ । औपचारिक रूपमा सुखीगाउँ घोषणा गर्नका लागि अहिले घरघरमा आयआर्जनलगायत तथ्याङ्क सङ्कलन भइरहेको जनाइएको छ ।
जनक श्रेष्ठ/ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७