गठबन्धनभित्र ‘विन-विन’ को सिद्धान्तका आधारमा चुनावी तालमेल हुन्छ : माधव नेपाल

‘सरकारका केही मन्त्री फेरिए पनि गठबन्धन सरकारमा कुनै परिवर्तन हुँदैन’


१० चैत्र २०७८, बिहीबार
madhav kumar

धनुषा । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनभित्र ‘विन-विन’ को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताएका छन् ।

धनुषाको जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘गठबन्धनमा रहेका दलबीच विन-विनको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने गरी छलफल भइरहेको छ ।’ अध्यक्ष नेपालले गठबन्धनमा सहभागी सबै दलको उचित मर्यादा, सम्मान र स्थान दिएर तालमेल गर्ने विषयमा हामी इमान्दार छौं भन्दै गठबन्धनभित्र विचारमा विविधता देखिए पनि स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा कुनै विवाद नरहेको बताए । गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा छलफल जारी रहेको उनले जानकारी दिए ।

‘गठबन्धनको अवस्था के हुन्छ भन्ने चिन्ता गर्ने पार्टी हाम्रो होइन’, अध्यक्ष नेपालले भने, ‘हरेक पार्टी आ-आफ्नो शक्ति र सामथ्र्यका आधारमा चुनाव लड्न तयार छ, हुनु पनि पर्छ ।’ अध्यक्ष नेपालले आवश्यकता पर्‍यो भन्ने ‘विन विन’ का आधारमा सबै दलको उचित मर्यादा, सम्मान र स्थान दिएर तालमेल गरेर जान तयार रहेको बताए ।

अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकारले नै तीनै तहको निर्वाचन सम्पन्न गर्ने उल्लेख गर्दै सरकारका केही मन्त्री फेरिए पनि गठबन्धन सरकारमा कुनै खासै परिवर्तन नहुने बताए । आफ्नो पार्टीप्रति जनताको दिनदिनै आकर्षण बढ्दै गएकाले आगामी स्थानीय तहको निर्वाचनमा धेरै स्थानमा जित्ने बताउँदै उनले नेता-कार्यकर्तामा देखिएको उत्साहले पार्टीको भविष्य उज्जवल रहेको उल्लेख गरे ।

राजनीति व्यापक सम्भावनाको खेल हो, भोलि निर्वाचनमा नेकपा एमालेसँग पनि तालमेल हुनसक्छ कि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘एमालेसँग कुनै प्रकारको तालमेल गर्ने सम्भावना छैन ।’ ‘एमालेका नेताको अभिव्यक्ति र व्यवहारका कारण न त उहाँहरूसँग तालमेल हुन्छ न त अन्य कुनै प्रकारको सहकार्य नै हुन्छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७