एमाले वैठक : चैतभित्रै उम्मेद्वार सिफारिस गर्न निर्देशन, घोषणापत्र बनाउन कार्यदल

ओलीलीले जनप्रतिनिधिहरुसँग भर्चुअल संवाद गर्ने


१० चैत्र २०७८, बिहीबार
kp oli 3

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको मापदण्ड तोकेको छ । काठमाडौंमा बसेको दुई दिने केन्द्रीय कमिटी बैठकले ६ बुँदे मापदण्ड बनाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

पार्टी र पार्टी नीतिप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता विकास र सुशानप्रतिको दृष्टिकोण र सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निणर्य भएको उनले बताए ।

उपमहानगर र महानगरमा केन्द्रीय कमिटीले निर्णय गर्ने

बैठकले स्थानीय तहको उम्मेदवारका लागि चाहिने सिफारिस र निर्णय गर्ने अधिकार सम्बन्धनमा समेत निर्णय गरेको छ । रिजालका अनुसार वडाध्यक्षका लागि वडा कमिटी र गाउँ/नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्नेछ भने उपप्रमुख र प्रमुखको हकमा गाउँ/नगर र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ ।

त्यस्तै उपमहानगर र महानगरको हकमा भने पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने रिजालले बताए । त्यसका लागि उपमहानगर/महानगर कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिस चाहिने उनले बताए । पार्टीका सबै निकायलाई चैतभित्रै सिफारिस पठाउनुपर्ने समेत निणर्य भएको नेता रिजालले बताए ।

घोषणा पत्र बनाउन कार्यदल
बैठकले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र बनाउन कार्यदल बनाएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल बनाइएको रिजालले बताए । कार्यदलमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, प्रभु साह, युवराज खतिवडालगायत नेताहरु रहेका छन् ।

कार्यदलले बनाएको घोषणा पत्र पार्टी स्थापना दिवसको अवसरमा वैशाख ९ गते सार्वजनिक गरिने रिजालले बताएका छन् । उनले ७५३ वटै स्थानीय तहको समस्या र समाधानका विषयमा घोषणा पत्रमा उल्लेख गरिने बताए ।
ओलीलीले जनप्रतिनिधिहरुसँग भर्चुअल संवाद गर्ने

यसैबीच अध्यक्ष ओलीले ७५३ वटै स्थानीय तहका जनप्रतिनिधिहरुसँग भर्चुअल संवाद गर्ने भएका छन् । नेता रिजालका अनुसार अध्यक्ष ओलीले चैत १६ गते भर्चुअल संवाद गर्नेछन् । भर्चुअल संवादमा स्थानीय तहमा भएका समस्याहरु जानकारी लिने बताइएको छ । जुन कुरा घोषणा पत्रमा समेत समावेश गरिने बताइएको छ ।

त्यस्तै ओलीले आसन्न निर्वाचनमा अत्यधिक बहुमतका साथ पहिलो पार्टी बन्न जनताको सेवक भएर उनीहरुको घरदैलोमा जान र उनीहरुको समस्या बुझ्न निर्देशन दिएका छन् । विचारका र संगठनका हिसाबले प्रतिस्पर्धा गर्ने अन्य पार्टी नभएको दाबी गर्दै ओलीले पार्टीको अनुशासन र मर्यादाभित्र रहेर अग्रपंक्तिमा खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको नेता रिजालले बताए ।

सार्वजनिक कार्यक्रममा पाँच जना मात्र वक्ता राख्न निर्देशन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा अधिकतम पाँच५ जनालाई मात्र मञ्चमा राख्न र वक्ता बनाउन निर्देशन दिएका छन् ।

बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकको समापनका क्रममा ओलीले सार्वजनिक कार्यक्रमको व्यवस्थापनमा ध्यान दिन निर्देशन दिएका हुन् । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अधिकतम पाँच जना मात्र बक्ता राख्न र उनीहरुलाई मात्र मञ्चमा राख्न, खादामाला कम गर्न समेत निर्देशन दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७