हिमाल आरोहणका लागि १२८ जनाले लिए अनुमति

हिमाल आरोहण सहजीकरणका लागि सात सदस्यीय समिति गठन


१५ चैत्र २०७८, मंगलवार
manasalu himal

काठमाडौं । वसन्त ऋतु शुरु भएसँगै पर्यटकहरुले हिमाल आरोहणका लागि अनुमति लिन थालेका छन् । सोमवारसम्म १६ वटा हिमाल आरोहणका लागि १२८ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

अनुमति लिनेमध्ये ९६ जना पुरुष र ३२ जना महिला छन् । उनीहरुबाट दुई करोड ६५ लाख ३१ हजार रुपैयाँ रोयल्टी संकलन गरिएको विभागले जनाएको छ ।

सबैभन्दा धेरै अन्नपूणर् हिमाल आरोहणका लागि २५ जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि सोमबारसम्म ६ जना पुरुष र तीन जना महिला गरी नौ जनाले अनुमति लिएका विभागले जनाएको छ ।

कोरोना महामारीका कारण दुई वर्षदेखि नेपालको हिमाल आरोहण प्रभावित बनेको थियो । यस वर्ष कोरोनाको जोखिम कम भएकोले पर्वतारोहण तथा पर्वतीय पदयात्रामा आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ ।

हिमाल आरोहणको सहजीकरणका लागि सात सदस्यीय समिति गठन
पर्यटन विभागले हिमाल आरोहणको अनुगमन तथा सहजीकरण गर्न सात सदस्यीय समिति गठन गरेको छ । पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखाका प्रमुख सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा समिति गठन गरिएको विभागले जनाएको छ ।

समितिका सदस्यहरुमा नपाली सेनाका सेनानी किशोर अधिकारी, प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डे, सगरमाथा आरोही संघबाट निशा अधिकारी, नापी अधिकृत खिमलाल गौतम लगायत छन् ।

हिमालयन उद्धार संघ र सगरमाथा प्रदूषण नियन्त्रण समितिबाट पनि एक-एक जना प्रतिनिधिलाई समेत सदस्यमा राखिएको पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीले जानकारी दिए । ‘नापी अधिकृत खिमलाल गौतमलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ,’ जिसीले भने ।

समितिले सन् २०२२ को वसन्त ऋतुमा खुम्बु क्षेत्रमा हुने पर्वतारोहणसम्बन्धी विभिन्न गतिविधिलाई नियमित, मर्यादित र व्यवस्थित बनाउने काममा आवश्यक समन्वय तथा सहजीकरण गर्ने जिसीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७