घुस काण्डमा मुछिएका गाउँपालिका अध्यक्ष चिसोमा चाहिने सिरक गर्मीका बेला बाँड्दै


१५ चैत्र २०७८, मंगलवार
sirak

जनकपुर । अहिले तराई-मधेशमा उखरमाउलो गर्मी बढेको छ । दिनभर चर्को घाम लाग्ने गरेका कारण गर्मी छल्न मानिसहरु रुख वा शीतल स्थानको खोजीमा हुन्छन् । तराई मधेशमा गर्मीबाट बच्न सर्वसाधारण नागरिक आफ्नो हैसियत अनुसार पंखा, कुलर जस्ता विद्युतीय सामान धमाधम किनेर गर्मी छल्ने प्रयास गरिरहेका छन् । तर यस्तो गर्मी मौसमा धनुषाको एक स्थानीय तहले भने सिरक र कम्बल बाँडिरहेको छ ।

आसन्न स्थानीय चुनाव नजिकिंदै गरेका बेला दलहरुमा चुनावी सरगर्मी समेत बढिरहेको छ । चुनावी सरगर्मीले तराई-मधेशलाई तताइरहेका बेला तराई-मधेशकै धनुषामा गर्मीको धुपमा सिरक, कम्ल वितरण भइरहेको कार्यले भने धेरैलाई अचम्ममा पारेको छ । अन्य स्थानीय तहहरुले जाडोबाट छल्न सिरक र कम्बल मंसिर पुसमा बाँडे पनि धनुषा बटेश्वर गाउँपालिका अध्यक्ष भने जाडो छल्न हिउँदमा चाहिने कम्बल अहिले बाँडेर मतदाता फकाउँदै छन् ।

यस्तो गर्मीमा पनि फाइवर सिरक वितरण गरिरहेको सुन्दा जोकोहीलाई अचम्म लाग्नु अनौठो होइन । तर धनुषाको बटेश्वर गाउँपालिकाले जाडोको बेला बाँड्नुपर्ने न्यानो कम्बल अहिले धमाधम बाँडिरहेको छ । गाउँपालिकाले मंगलबार पाँच वटा वडामा ७५० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । यसअघि आठ लाख रुपैयाँ घुसकाण्डमा मुछिएका गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले गर्मीका बेला जाडोमा चाहिने कम्बल बाँडिरहेको स्थानीयले बताएका छन् ।

जाडो महिनामै बाँड्नुपर्ने कम्बल त्यति बेला वितरण गर्न नसक्दा अहिले वितरण गरिको एक जनप्रतिनिधि बताउँछन् । गाउँपालिका अध्यक्ष राउत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीको छापापछि १९ चैत २०७७ मा ८ लाख रुपैयाँ घुस सडकमा फ्याँकेर भागेका थिए । अख्तियारको टोली आएको थाहा पाएपछि अध्यक्ष राउत घुस लिएको रकम फ्याँकेर फरार भएका थिए । अख्तियारको टोलीले त्यसबेला अध्यक्ष राउत चढ्ने गाडी र चालकलाई नियन्त्रणमा लिएको थियो ।

अख्तियारले अध्यक्षको प्र-२-०२-००१ झ ०००२ नम्बरको सरकारी नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको थियो। विकास निर्माणका योजनाहरूको कामको भुक्तानी दिन अध्यक्ष राउतले ८ लाख रुपैयाँ कमिसनको रुपमा लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७