स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुसँग तालमेल गर्ने कांग्रेसको निर्णय


१५ चैत्र २०७८, मंगलवार
congress 1

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा अन्य सत्तारुढ दलसँग तालमेल गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निणर्य गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’ प्रवक्ता महतले भने, ‘स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरुप अगाडि बढाइने छ ।’

चार दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकले सर्वसम्मत रुपमा सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेर जाने निर्णय लिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । ‘स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनसँग तालमेल गरेर जाने निर्णय पार्टी केन्द्रीय कार्य समिति बैठकले सर्वसम्मत गरेको छ’, पौडेलले बैठकपछि भने, ‘तालमेलको निणर्यपछि अब त्यसका विधि र प्रक्रियाहरु निर्माणका लागि आवश्यक छलफल अघि बढाउँछौँ ।’

केन्द्रीय कार्य समिति बैठकमा इतर समूहका नेताहरु तालमेलको विपक्षमा थिए । नेताहरु शेखर कोइराला, गगन थापा, धनराज गुरुङसहितले तालमेलको विपक्षमा आफ्ना धारणा राखेका थिए । तर सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षीय नेताहरुले एमालेलाई साइजमा राख्न पनि तालमेल जरुरी रहेको वकालत गरेका थिए । सभापति देउवाले त तालमेल नगर्ने हो भने सबै नेताहरु हार्ने बताएका थिए । उनले एमाले अझै बलियो रहेको भन्दै तालमेलको विकल्प नरहेको कुरा बैठकमा राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७