कांग्रेसले तोक्यो उपसभापति खड्कालाई चुनावी कमाण्डर, प्रकाशशरणको नेतृत्वमा प्रचार समिति

थपियो भ्रातृ संस्थाका कार्यसमितिको म्याद, विवादले हुन सकेन संसदीय बोर्ड गठन


१५ चैत्र २०७८, मंगलवार
sanepa congress

काठमाडौं । कांग्रेसले स्थानीय तहको चुनावी कमाण्डर उपसभापति पूणर्बहादुर खड्कालाई तोेकेको छ । खड्काको नेतृत्वमा चुनाव परिचालन समिति बनाउने तयारी छ ।

पदाधिकारी बैठकले यो प्रस्ताव तयार पारेको हो । उक्त प्रस्ताव केन्द्रीय समितिमा पेस हुँदैछ । त्यस्तै गरी चुनावी प्रचार प्रसार समितिको नेतृत्व भने प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा बनाउन लागिएको छ ।
भ्रातृ संस्थाका कार्यसमितिको म्याद वैशाख २५ गतेसम्म थप
नेपाली कांग्रेसले फागुन मसान्तमा म्याद सकिएर खारेज भएका भ्रातृ संस्थाका कार्यसमितिको म्याद थप गरेको छ । कांग्रेस केन्द्रीय समितिले आगामी वैशाख २५ गतेसम्म म्याद थप गर्ने निर्णय गरेको हो ।

भ्रातृ संगठन नेविसंघ र तरुण दलको नेतृत्वमा सभापति देउवाले एकतर्फी रूपमा ल्याएपछि कांग्रेस संस्थापन र संस्थापनइतरबीच दूरी बढेका थियो । त्यसले पार्टीमा स्पष्ट दुईधार बनाएपछि संस्थापन पक्षले भएकै कार्यसमितिलाई निरन्तरता दिएर विवादबाट मुक्त हुने बाटो लिएको छ । नेविसंघ र तरुण दलका अध्यक्षहरूले भने नयाँ कार्यसमिति बनाउने छन् ।
विवादले हुन सकेन संसदीय बोर्ड गठन
सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक संसदीय समिति (बोर्ड) नै गठन नगरी सकिएको छ । केन्द्र, प्रदेश र स्थानीय तहमा निर्वाचन लड्ने उमेदवारहरूका विषयमा निणर्य गर्ने कांग्रेसको वैधानिक संस्था संसदीय समिति यही चैत १५ भित्र बनाउने तयारी थियो ।

तर, तोकिएकै दिन मंगलबा बसेको केन्द्रीय समिति बैठकमा संसदीय समितिमा रहने सदस्यका विषयमा विवाद भएपछि संसदीय समिति गठन नै थाती राखेर सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक टुंग्याएका छन् ।

स्रोतकाअनुसार संसदीय समितिमा सभापति देउवाले पूर्व पदाधिकारीहरू रामशरण महत, अर्जुन नरसिंह केसी र चित्रलेखा यादवलाई नराख्ने तयारी गरका थिए । तर, शेखर कोइराला समूहले वरिष्ठहरूलाई पन्साएर आफू निकटका नेताहरू ल्याउने कुरा स्वीकार्य नभएको भन्दै विरोध जनाएपछि देउवाले संसदीय समिति गठन नै थाती राखिदिएका छन् ।

एक नेताकाअनुसार सभापति देउवाले संसदीय समितिमा एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई ल्याउने तयारी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७