अंग्रेजी माध्यमले विराटनगरका सामुदायिक विद्यालयको स्तर वृद्धि


१६ चैत्र २०७८, बुधबार
student 2
फाइल फोटो

मोरङ । स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ । यसबाट निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन् । योजनागत कदमकै कारण शैक्षिक क्षेत्रमा गरिएका प्रयास सार्थक बनेका महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गा खतिवडाले बताए ।

आदर्श र पोखरिया माविले अङ्ग्रेजी माध्यमबाट प्राविधिक शिक्षामा जोड दिएका छन् । दुवैमा बर्सेनि निजी विद्यालय छाडेर भर्ना हुन आउने विद्यार्थीको संख्या अत्यधिक छ । ‘महानगरले संरचना निर्माणका साथै गुरुकुल र मदरसामार्फत हुने पठनपाठनमा सुधार गरेको छ’, उनले भने । शैक्षिक लक्ष्य हासिल गर्न अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरिँदा बीचैमा सामुुदायिक विद्यालय छाडेर जाने विद्यार्थीको संख्या घट्न थालेको छ ।

विराटनगरको महेन्द्र माविले कम्प्युटर शिक्षामा जोड दिएको छ । अडियो भिजुअल कक्षामा जोड दिएपछि निजी विद्यालयकै हाराहारीमा गुणस्तरीय र सुविधा सम्पन्न पूर्वाधारको उपभोग गरी पठनपाठन गरिँदै आएको प्राचार्य चन्द्रप्रसाद साहले बताए । ‘कोरोनाले दुई वर्ष कठिनाइ भयो, पछिल्लो समय विपन्न परिवारका विद्यार्थीलाई प्राविधिक शिक्षामा जोड्न चालिएको कदम सही सावित भएको छ’, उनले भने ।

विराटनगरको आदर्श विद्यालय यस क्षेत्रकै उदाहरणीय बनेको पूर्वप्राचार्य विष्णुप्रसाद लामिछाने बताउँछन् । आदर्शमा तल्लो कक्षामा मन्टेश्वरी तथा माथिल्लोमा कम्प्युटर प्राविधिकतर्फको अध्यापनमा जोड दिइएको छ । आदर्शमा हाल झण्डै दुई हजार विद्यार्थी अध्ययनरत् छन् । पोखरियामा पनि विद्यार्थीको आकर्षण बढ्दो छ ।

दिनेश मण्डल सरकारी विद्यालयमा कम्युटरसम्बन्धी शिक्षा लिन पाएकामा खुशी छन् । ‘पहिलादेखि आइटीसम्बन्धी पढ्न मन थियो । निजीमा महँगो शुल्कले भर्ना हुन सकिनँ’, उनले भने । जनता मावि परिसरमा बहुप्राविधिक शिक्षालय सुरु गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए । प्राविधिक शिक्षामा विपन्नको पहुँच पुगेको उनी बताउँछन् ।

‘पाँच वर्षमा शिक्षा क्षेत्रको भौतिक पूर्वाधारमा सुधार गर्‍यौँ, शिक्षाको गुणस्तर सुधार्नसमेत पहल भयो, अब परिणाम देखिन थालेको छ’, उनले भने । विद्यालयले समावेशी शिक्षामा जोड दिँदै प्रारम्भिक बाल विकासका लागि मन्टेश्वरी विधिबाट पठनपाठन गरिरहेको छ । खेल सामग्रीसहित बाल कक्षा सञ्चालन गरी खाजा कार्यक्रम सुरु गरिएको छ । यसले विद्यार्थीको आकर्षण बढेको पराजुली बताउँछन् ।

महानगर प्रमुख पराजुलीले आफ्नो पारिश्रमिक हस्तान्तरण गरी दुई आधारभूत विद्यालयमा भौतिक पूर्वाधार निर्माण गर्न सहयोग गरेका छन् । नगरका अन्य आधारभूत विद्यालयको उनले नियमित अनुगमन गर्दै आएका छन् । पोखरीया माविमा नयाँ भवन निर्माण हुँदैछ । अन्य विद्यालयमा महानगरले यातायातको साधन व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

सुशिक्षा निकुञ्ज आधारभूत विद्यालय हाटखोलाका प्रधानाध्यापक चक्रप्रसाद पोखरेल महानगरको प्रयास सकारात्मक रहेको बताउँछन् । ‘शिक्षक र कर्मचारीको दरबन्दी मिलान तथा माग पूर्ति गर्न आवश्यक छ, खेल सामग्री समेत उपलब्ध गराउनु पर्छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७