एमाले एक्लै क्विन्टलको ढक हो, एक किलोका पाँच वटा मिलेर आए पनि तुलनै हुँदैन : ओली

‘अब गठबन्धन गरे पनि एमालेसँग लड्न सकिंदैन भन्ने बुझ्न बाँकी छ’


१६ चैत्र २०७८, बुधबार
kp oli 3 scaled 1

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न गाह्रो भएको बताएका छन् । उनले सत्ता गठबन्धनमा रहेका दलका नेताहरू स्वार्थमा केन्द्रित रहेकाले निर्वाचनमा गठबन्धन हुन गाह्रो रहेको जिकिर गरे ।

ओलीले कांग्रेस र माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनलाई एक-एक किलोको ढकको पनि संज्ञा दिएका छन् । ‘गठबन्धनमा रहेका पाँच दल भनेका एक-एक किलोका ढक हुन् । तर एमाले एक्लै एक क्विन्टलको ढक हो । अब पाँच किलो ढक र एक क्विन्टलको ढक दुई पटी राखेर जोख्दा तुलनै हुन सक्दैन नि ! उनीहरुले एमालेसँग भिड्न गठबन्धन गरेरै आउनुपर्छ ।’

भक्तपुरको सूर्यविनायकमा एमाले केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईले सुरु गरेको तरकारी बजारको बुधबार उद्घाटन कार्यक्रममा बोल्दै ओलीले भने, ‘गठबन्धन गर्छौं भनेका हुन्, गठबन्धन सजिलो छैन । लोभीपापीहरूको गठबन्धन कति गाह्रो होला विचार गर्नुस् त !’

सरकारको नेतृत्व गरिरहेको कांग्रेसले केन्द्रिय समितिबाट स्थानीय तह निर्वाचनमा सरकारमा रहेका दलहरूबीच तालमेल गर्ने निणर्य लिएको एक दिनपछि ओलीको यस्तो अभिव्यक्ति आएको हो । उनले सत्तारुढ गठबन्धनले निर्वाचन आयोगलाई भनेर मनोनयनका लागि समय लामो राखिएको बताए । ‘एकै दिनमा गठबन्धनले उम्मेदवारी दर्ता गर्नै सक्दैन भनेर निर्वाचन आयोगलाई भनेर दुई दिन राखेको छ । एक हप्ता गराए पनि के हुन्छ र ? मनोनयन नै हुने होला । सबै दल मिलेर आए पनि हुन्छ ।’

निर्वाचनमा गठबन्धन गरे पनि एमालेलाई जित्न सत्तारुढ गठबन्धनले नसक्ने ओलीको दाबी थियो । उनले भने, ’गठबन्धन बिना एमालेसँग लड्न सकिँदैन भन्ने बुझेको ठीक छ । गठबन्धन गरे पनि एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्न बाँकी छ ।’
वर्तमान सरकारले कुनै काम नगरेको ओलीको दाबी थियो । उनले विगतमा आफ्नो कार्यकालमा भएका कामहरू उद्घाटन गर्दै हिंडेको बताए । ‘बाटो हामीले बनायौं, मोटर उहाँहरूले चलाउनु भयो होला । त्यो कुन ठूलो कुरा हो र,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७