स्थानीय तह निर्वाचनको उम्मेद्वार हुन १९ शर्त

ठेकेदार र पीआर लिएकाले उम्मेदवार बन्न नपाउने


१६ चैत्र २०७८, बुधबार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गराउँदा स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगको आज (बुधबार) बसेको बैठकले उम्मेदवारले मनोनयन दर्ता गराउँदा मनोनयन पत्रका साथ स्वघोषणा गर्नुपर्ने प्रावधान ल्याएको हो । आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै १९ बुँदे योग्यता तोकेको छ ।

जसअन्तर्गत् नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको, गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, स्थानीय तह निर्वाचनसम्बन्धी कुनै कानुनले अयोग्य नभएको स्वघोषणा गर्नुपर्ने हुन्छ ।

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक वा सुविधा पाउने गरी बहाल नरहेको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको स्वघोषणा गर्नुपर्नेछ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३, स्थानीय तह निर्वाचन नियमावली, २०७४ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ बमोजिम मनोनयनपत्र साथ उम्मेदवारले पेश गर्नुपर्ने सबै कागजात पेश गरेको हुनुपर्नेछ । प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम कायम नरहेको, मनोनयनपत्रका साथ पेश गरेको सम्पत्ति विवरण ठीक साँचो रहेको हुनुपर्नेछ ।

स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको, सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको, पीआर नलिएको हुनुपर्नेछ ।

न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बुझाउन बाँकी नरहेको स्वघोषणा गर्नुपर्नेछ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्ध रहेको, निर्वाचन आयोगले तोकिदिएको निर्वाचन खर्चको सीमाभित्र रही खर्च गर्न र खर्चसम्बन्धी आचरण पालना गर्न प्रतिबद्ध रहेको, २१ वर्ष उमेर पूरा भएकाले स्थानीय निर्वाचनमा उम्मेदवार हुन योग्य नेपाली नागरिक भएको , नेपालको संविधान, कानुन र निर्वाचन ऐन नियमभित्र रही निर्वाचनमा भाग लिन प्रतिवद्ध रहेको स्वघोषणा गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७