मलेसियामाथि नेपाल ६ विकेटले विजयी


१६ चैत्र २०७८, बुधबार
nepalicricketteam 20220321091842
फाइल फोटो

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज (बुधबार) भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको हो ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो । मलेसियाले दिएको ११५ रनको समान्य लक्ष्य नेपालले १३ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जीतमा आसिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ खेले ।

३८ बल खेलेका उनले सात चौका र एक छक्काको मद्दतमा ५७ रनको योगदान गरेका हुन् । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २१, दिलीप नाथले १५, रोहित पौडेलले १२ तथा कुशल मल्लले २ रन जोडे । बलिङमा मलेसियाका पवनदीप सिंहले २ विकेट लिए भने सैद अजिज र मुहम्मद आमिरले समान १/१ विकेट हात पारे। यसअघि टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो ।

मलेसियाका लागि जुबाइदी जुल्किफ्लेले ३२ रनको योगदान दिए भने कप्तान अहमद फाजीले २४ रन जोडे। यसैगरी सेइद अजिजले १४, शर्भिन मुनियनडीले ९, मुहमद अमिरले १६ तथा विजय उन्नीले ३ रनको योगदान गरे । बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए भने कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र अविनास बोहराले समान १/१ विकेट झारे । अब नेपालले भोलि पपुवा न्युगिनीसँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७