बिम्स्टेक सदस्य मुलुकबीच तीन समझदारीपत्रमा हस्ताक्षर

लुम्बिनीलाई जोडेर बुद्ध सर्किट बनाउन नेपालको प्रस्ताव


१६ चैत्र २०७८, बुधबार
bimstec

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौं शिखर सम्मेलनले सङ्गठनको बडापत्र अनुमोदन गरको छ ।

श्रव्य दृष्यका माध्यमबाट सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/सरकार प्रमुखले वडापत्रमा हस्ताक्षर गरेर त्यसलाई अनुमोदन गरेका हुन् । बडापत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् । सम्मेलनले तीन नयाँ दस्तावेजलाई पनि अनुमोदन गरेको छ ।

कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाल सरकारका तर्फबाट ‘आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि’ र ‘कोलम्बोमा प्रविधि हस्तान्तरण केन्द्र स्थापनासम्बन्धी संलग्नतापत्र’ मा हस्ताक्षर गरेको कोलम्बोस्थित नेपालको राजदूतावासले जनाएको छ ।

त्यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय सङ्गठन महाशाखाका प्रमुख घनश्याम भण्डारीले ‘बिम्स्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान/प्रशिक्षण संस्थाबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र’ मा हस्ताक्षर गरे ।
तीन वर्षअघि काठमाडौंमा सम्पन्न चौथो शिखर सम्मेलनले बलियो बिम्स्टेक निर्माण गर्न बडापत्रको आवश्यकता, सङ्गठनको पुनर्संरचना, सङ्गठनको कार्यक्षेत्र र उपक्षेत्र निर्धारण तथा सचिवालयलाई बलियो बनाउने आधारशिला निर्माणका निम्ति आह्वान गरेको थियो ।

लुम्बिनीलाई जोडेर बुद्ध सर्किट बनाउन नेपालको प्रस्ताव
शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मथलो लुम्बिनीलाई जोडेर बौद्ध सर्किट स्थापनाका लागि बिमस्टेक सदस्य देशलाई आह्वान गरे । प्रधानमन्त्री देउवाले बिमस्टेक सदस्य देशलाई बौद्ध दर्शनले आपसमा जोड्नुपर्ने बताए ।

ROS KTM 64834413

‘बिमस्टेक सदस्य देशका मठमन्दिर, पुरातात्विक स्थल, पर्यटकीयस्थल र साहसिक मनोरञ्जनस्थललाई जोडेर पर्यटकीय सर्किट संचालनमा ल्याउने कदमको नेपालले स्वागत गर्छ,’ देउवाले सम्बोधनमा भने । ‘बिमस्टेक सदस्य मुलुकबीच सहकार्यका विभिन्न क्षेत्रमध्ये जनस्तरको सम्पर्क विस्तारका सवालमा नेतृत्वदायी भूमिका लिन नेपाल तयार छ’, देउवाले भने, ‘हामी बिमस्टेकका अन्य सदस्य देशसँग मिलेर जनस्तरको सम्बन्ध सुदृढीकरणका लागि काम गर्न प्रतिबद्ध छौं ।’

शिखर सम्मेलनमा सदस्य मुलुकले सरकार अथवा राष्ट्र प्रमुखको तहमा सहभागिता जनाउने गरेका छन् । शिखर सम्मेलन ‘बिमस्टेकको प्रोसेस’ अन्तर्गत सर्वोच्च निकाय हो । यसले नै बिमस्टेक सदस्य मुलुकका साझा मुद्दामा अन्तिम निणर्य गर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७