रुससँग शान्तिवार्ताका लागि गएका युक्रेनीहरूलाई किन भनियो केही नखान र नछुन ?


१७ चैत्र २०७८, बिहीबार
Ukraine1648658381

किभ । युक्रेनका विदेशमन्त्रीले मंगलबार रुससँग शान्तिवार्ताका लागि गएका अधिकारीहरूलाई केही नखान र केही नछुन चेतावनी दिएका थिए । जसबारे अहिले सबैतिर व्यापक चर्चा भइरहेको छ ।

विभिन्न स्रोतहरूबाट आएको खबरअनुसार यसअघि मार्चमा युद्धको सुरुवातमा भएको शान्तिवार्ताका लागि गएका चेल्सी फुटबल क्लबका मालिक रोमन अब्राहिमोभिचसहितको युक्रेनी शान्तिवार्ता टोलीलाई रुससँगको बैठकमा ‘पोइजनिङ’ अर्थात उनीहरूमाथि विषाक्त केमिकल प्रयोग भएको आशंका रहेको छ ।

जसले उनीहरूको आँखा रातो हुने, दुख्ने, पोल्ने, आँशु आइरहने भएको थियो भने हात र मुखका छाला दुख्नेगरी निस्किने भएको थियो । द इन्डिपेन्डेन्टमा उल्लेख गरिएको खबरमा चेल्सीका अब्राहिमोभिचको त सो पोइजनिङपछि केही घण्टासम्म आँखा नै नदेख्ने अवस्थामा पुगेको बताइएको छ । यसमा उनको आँखा सुन्निएर अचानक धेरै दुखेको थियो । तर पछि उनी ठिक भए । उनी अन्य दुई युक्रेनी अधिकारीहरूसँग सो बैठकमा पुगेका थिए ।

सञ्चार एजेन्सी वाल स्ट्रिट जर्नलले विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै यसबारे पहिले खबर गरेको थियो । पोइजनिङको शिकार भएका उनीहरूले चकलेट र पानी मात्र खाएको बताइएको छ । यसकारण पनि मंगलबार टर्कीमा सम्पन्न अर्को चरणको आमनेसामने वार्ताका लागि युक्रेनका मन्त्रीले त्यस्तो चेतावनी दिएका हुन् ।

राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिँदै मन्त्री डिमिट्रो कुलेबाले भनेका छन्, ‘रुसी पक्षसँग वार्ताका लागि जाने सबै अधिकारीहरूले केही नखानू, केही नपिउनू पनि । विशेषगरी त्यहाँको कुनै सतहमा कतैपनि हातले नछुनू ।’ रोमन अब्राहिमोभिचले फ्रेब्रुअरीको अन्त्यतिर रुससँगको शान्ति वार्तामा सहयोग गर्ने युक्रेनको अनुरोध स्वीकार गरेका थिए । र उक्त पोइजनिङको घटनापछि अझैपनि बैठकमा सहभागी हुन इच्छुक रहेको बताउँदै आएका छन् ।

यसरी अब्राहिमोभिच लगायत युक्रेनी टोलीमाथि पोइजनिङको घटना वास्तवमा अत्यन्तै चिन्ताजनक भएको बताइएको छ । कतिले यसलाई वातावरणीय कारणले त्यस्तो ‘रियाक्सन’ भएको बताइरहेका छन् तर विज्ञहरूले वातारणीय कारणले त्यतिसम्मको प्रभाव पार्नु सम्भव नभएको बताएका छन् ।

अहिलेसम्म यो खबर पूर्णरूपमा पुष्टि भएको छैन । उनीहरूको स्वास्थ्य अवस्था पछि ठिक भएपनि यसलाई चेतावनीका रूपमा लिन सकिने विश्वविद्हरूको भनाइ छ । मंगलबारको वार्तापछि रुसले राजधानी किभ आसपासको क्षेत्रमा सैन्य गतिविधि कम गर्ने वचन दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७