विद्यालय कटौतीले विद्यार्थीलाई झनै सास्ती


१८ चैत्र २०७८, शुक्रबार
student

पाँचथर । सामुदायिक विद्यालयका एक शिक्षकले ४० विद्यार्थी हेर्नुपर्ने व्यवस्था शिक्षा ऐनले गरेको छ । यो व्यवस्थाअनुसार पहाडका अधिकांश आधारभूत विद्यालयहरू बन्द हुने स्थितिमा छन् । विद्यार्थी संख्या कम भएपछि यहाँका १० वटा विद्यालय बन्द भइसकेका छन् ।

अधिकांश आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या दिन प्रतिदिन घटिरहेको छ । विद्यार्थी संख्या नपुगेको भन्दै सरकारले विद्यालय गाभ्ने र शिक्षक दरबन्दी अन्यत्र सारेर विद्यालय बन्द गर्ने नीति लिएपछि ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरू बन्द हुन थालेका हुन् ।

पाँचथरको याङवरक गाउँपालिकामा मात्रै ५ वटा विद्यालय बन्द भएका छन् । फिदिम नगरपालिकाका १० विद्यालय घटुवामा परेका छन् । विद्यालय कटौतीको प्रत्यक्ष मारमा बिपन्न परिवारका विद्यार्थी परेका छन् । सडक आसपास घर भएका विद्यार्थी गाडीको छतमा बसेर विद्यालय पुग्न बाध्य छन् । सडक नभएको ठाउँमा घण्टौं धाएर विद्यालय जान उनीहरू बाध्य छन् ।

पाँचथरको याङवरक गाउँपालिका ६ अर्चलेको पाथीभरा आधारभूत विद्यालय बन्द भएको एक वर्ष पुग्यो । विद्यार्थी संख्या नपुगेर दरबन्दी अन्तै लगेपछि यहाँका विद्यार्थी आधा घण्टाको टाढाको गणेश माध्यमिक विद्यालय जान बाध्य छन् । ‘नजिकैको विद्यालय बन्द भएपछि विद्यार्थी टाढाको स्कुल जान बाध्य छन्,’ स्थानीय ठगनाथ घिमिरेले भने, ‘बिपन्न परिवारका विद्यार्थी डेरा गरेर पढ्न नसक्ने भएकाले समस्या छ ।’

कतिपय विद्यालयमा विद्यार्थी संख्या कम भएपछि दरबन्दी कटौती गरिएको छ । दरबन्दी कटौती गरिएका विद्यालयको कक्षा घटाइएको छ । फाल्गुनन्द गाउँपालिका १ नरकटेमा सञ्चालित तिरतिरे विद्यालयलाई घटुवा गरिएको छ । पाँच कक्षासम्म सञ्चालन हुँदै आएको यो विद्यालयमा कक्षा कटौती गरेर कक्षा तीनसम्म सञ्चालन गर्ने अधिकार दिइएको छ ।

यो विद्यालयमा अहिले कक्षा २ र ३ का ४ जना विद्यार्थीहरू एउटै कक्षामा पढ्छन् । विद्यालयको दरबन्दी र कक्षा कटौती गरिएपछि विद्यार्थीको संख्या झन् घटेको प्रधानाध्यापक इन्द्रमाया राईले बताइन् । ‘विद्यालय घटुवामा परेपछि दरबन्दी पनि कटौती भयो,’ राईले भन्निन्, ‘अहिले त विद्यार्थीको संख्या झन् घटेको छ ।’

तुम्बेवा गाउँपालिकाका ५ विद्यालयलाई गाभ्ने तयारी थियो । तर, अभिभावकको चर्को दबाबपछि ती विद्यालयहरू अहिले सञ्चालनमा छन् । फिदिम नगरपालिकाका १० विद्यालय घटुवामा परेका छन् । घटुवासँगै शिक्षक दरबन्दी कटौती भएपछि भएका विद्यार्थीहरू पनि विद्यालय आउनै छाडेको शिक्षकहरू बताउँछन् । ‘विद्यालय गाभिँदा ८ किलोमिटरसम्म विद्यार्थीहरू हिँडेर विद्यालय जान बाध्य छन्,’ थाक्लेका स्थानीय संकर खनालले भने, ‘दुर्गम ठाँउका विद्यार्थीको समस्याप्रति कसैले चासो दिएन ।’

विद्यार्थी संख्या कम भएका विद्यालयहरू गाभ्ने सरकारको नीतिका कारण यस्तो समस्या आएको शिक्षा समन्वय एकाइ पाँचथरका प्रमुख युगमणि सबेहाङले बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७