रुबलमा भुक्तानी नगर्ने देशलाई रुसले ग्यास नदिने, युरोपेली देशलाई असर


१८ चैत्र २०७८, शुक्रबार
putin

काठमाडौं । रुसले आज (शुक्रबार) देखि आफ्नै मुद्रा रुबलमा भुक्तानी नगर्ने देशलाई ग्यास नदिने भएको छ । यसअघि धम्की मात्रै दिँदै आएको रुसले एउटा आदेश पारित गर्दै रुससँग मित्रवत् व्यवहार नदेखाउने देशहरुले ग्यास खरिदको लागि अनिवार्य रुपमा रुबलमै भुक्तानी दिनुपर्ने नियम लागू गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको आदेश अनुसार ग्यास खरिद गर्न चाहनेहरुले आजदेखि रुसी बैंकमा खाता खोलेर रुबल जम्मा गर्नुपर्नेछ । रुसको यो नियमपछि ग्यास खरिद गर्ने युरोपेली देशहरुलाई निकै ठूलो असर पर्नेछ भने युद्धका कारण कमजोर बन्दै गएको रुसी मुद्रालाई राहत हुनेछ । यसले रुसी मुद्रा बलियो बन्ने तथा रुससँग डलर र युरोको सञ्चिती बढ्ने अनुमान छ ।

रुसी निणर्यको प्रतिक्रिया दिँदै जर्मनीले यसलाई ‘ब्ल्याकमेल’ अर्थात जालसाझी गरेको आरोप लगाएको छ । यस्तै फ्रान्सले रुसी ग्यास कटौती गर्दै जाने बताएको छ भने बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले रुबलमा ग्यास खरिद गर्नु सजिलो विषय नभएको भन्दै विकल्प खोजिने बताएको खबरमा उल्लेख छ ।

पूरै युरोपमा खपत हुने ग्यासमध्ये ४० प्रतिशत रुसबाट आयात हुने गरेको छ भने डिजल, पेट्रोल लगायतका तेलको ३० प्रतिशत माग पनि रुसले नै आपूर्ति गर्दै आएको छ । गएको फेब्रुअरी अन्तिममा रुसले युक्रेनमा आक्रमण थालेपछि अमेरिका र युरोपेली देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । अमेरिका र क्यानडाले रुसबाट आयात हुने इन्धनमा कटौती गरेका छन् तर युरोपेली देशसँग भने इन्धनको लागि भरपर्दो अर्को विकल्प नभएकाले रुसी इन्धनमाथि प्रतिबन्ध लगाउन सकेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७