चितवनका आठ ठाउँमा एकै पटक देखियो बर्डफ्लू

यस वर्ष हालसम्म १३ जिल्लामा भेटियो बर्डफ्लू


१८ चैत्र २०७८, शुक्रबार
birdflu
540837728

चितवन । चितवनका विभिन्न आठ ठाउँमा बर्डफ्लू देखिएको छ । विगत केही दिनदेखि फरक-फरक स्थानमा बर्डफ्लू देखिएको हो । पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास गरिएको छ ।

भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाको खैरहनी नगरपालिका-२ स्थित किरणप्रसाद कँडेलको तात्रीवास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र प्रालि, भरतपुर महानगरपालिका-८ को मदनकृष्ण मानन्धरको कमर्सियल लेयर्स फार्म र भरतपुर महानगरपालिका वडा नं २३ मा अवस्थित खेमलाल भुषाल र चन्द्र भुषालको कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको हो ।

यसैगरी भरतपुर महानगरपालिका- १६ स्थित एजे पोल्ट्री फार्म, भरतपुर २३ का अविशेक रामदामको फार्म, खैरहनी नगरपालिका-१० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी नगरपालिका-३ स्थित ध्रुव अधिकारीको कुखुरा फार्म र खैरहनी नगरपालिका-६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लू देखिएको हो ।

ती फार्ममध्ये कँडेल, मानन्धर र भुषालको फार्मलाई अनुगमन गरी त्यसको परिधि क्षेत्रभित्रका पक्षी नष्ट गर्ने निणर्य भएको कार्यालयका अधिकृत प्रभात न्यौपानेले जानकारी दिए । उनका अनुसार अन्य ६ वटा फार्ममा टोलीले अनुगमन गरेर परिधि तय गर्न बाँकी रहेको छ ।

बर्डफ्लू नियन्त्रण समिति चितवनले निणर्य गरेपछि थप ती ठाउँहरूमा पक्षी नष्ट गरिने उनले जानकारी दिए । ती सबै ठाउँको नमूनाको नतिजा बिहीबार आएको हो । जनशक्ति अभावका कारण काममा ढिलाई भएको उनले बताए । यस अघि जिल्लामा पाँच ठाउँमा बर्डफ्लू देखिएको थियो ।

बर्डफ्लू बढेपछि महानिर्देशकको टोली चितवनमा
जिल्लामा बर्डफ्लू बढेपछि पशु सेवा विभागका महानिर्देशक डा.रामनन्दन तिवारी सहितको विज्ञ टोली यहाँ आएको छ । बर्डफ्लू नियन्त्रण समितिको आज यहाँ सम्पन्न बैठकमा तिवारीले देशभरको बर्डफ्लूको अवस्थाबारे जानकारी दिँदै चितवन थप संवेदनशील बनेको बताए ।

हालसम्म देशभरका १३ जिल्लामा बर्डफ्लू देखिएको उनले जानकारी दिए । मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्कीमा बर्डफ्लू देखिएको हो । ती जिल्लामा ८८ हजार ८०० पक्षी मारिएको, ५१ हजार ७६३ अण्डा नष्ट गरिएको, ३० क्वीन्टल २१ किलो दाना र २० किलो मासु नष्ट गरिएको उनको भनाइ छ ।

सरकारले दिने राहत रकमको सरदर हिसाब गर्दा आजसम्म आठ करोडभन्दा बढी भएको भन्दै उनले विभागसँग रु एक करोड २१ लाख मात्रै बजेट रहेको बताए । यद्यपी प्रदेश र सङ्घका निकायहरूले राहात रकम उपलब्ध गराउने विश्वास दिलाउँदै यथासक्य छिटो पक्षी नष्ट गर्न निर्देशन दिए । यसका लागि व्यवसायी, प्रशासन र सरोकारवालाहरूको सहयोगको आवश्यक भएको उनको भनाइ थियो ।

बैठकमा पोल्ट्री महासङ्घका उपाध्यक्ष टिकाराम पोखरेलले कुखुरा बिक्री गर्नु पहिला परीक्षणका लागि आवश्यक किट उपलब्ध गराउन अनुरोध गरे । रोग फैलिँदै जाँदासमेत सरकारी तवरबाट काममा ढिलासुस्ती भएको भन्दै उनले तीब्ररूपमा पक्षी नष्ट गर्न र परीक्षण गर्न अनुरोध गरे ।

बैठकले बर्डफ्लू नियन्त्रण गर्न आवश्यक जनशक्ति तथा स्रोत साधन परिचालन गरी रोग अन्यत्र फैलिन नदिन सो क्षेत्रको ७ किलोमिटर भित्र रोगको निगरानी जारी राख्ने निणर्य गरेको छ । बर्डफ्लू नियन्त्रण नियमावली २०७८ को नियम ११ अनुसार नष्ट गरिएको पक्षी तथा पक्षीजन्य पदार्थ उत्पादन सामग्रीको हानि नोक्सानी भएको व्यक्तिलाई राहात दिन पशु सेवा विभाग र कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अनुरोध गर्ने निणर्य गरेको उनले जानकारी दिए ।

जिल्लामा बर्डफ्लू बढेकाले नियन्त्रणका लागि थप जनशक्ति र साधन स्रोतका लागि पशु सेवा विभाग र प्रदेश निर्देशनालयमा अनुरोध गर्ने निणर्य समेत बैठकले गरेको छ । चितवन जिल्लालाई बर्डफ्लू प्रभावित क्षेत्र वा प्राविधिक (इडिट) समितिले तोकेको निगरानी क्षेत्रबाट पक्षी तथा पक्षीजन्य पदार्थ वा उत्पादन सामग्री र रोग सार्न सक्ने अन्य वस्तुको ओसारपसारमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ बमोजिम प्रतिबन्ध लगाउने निणर्य गरेको छ । बजारमा शङ्कास्पद रोगी पक्षीको प्रवेशमा रोक लगाउने प्रयोजनका लागि रोगको प्रारम्भिक यकीन गर्न रेपिड रेष्ट किट परीक्षण गर्ने निर्णय बैठकले गरेको छ ।

नेपालमा विसं २०६५ मा पहिलो पटक बर्डफ्लू देखापरेको हो । त्यसैगरी २०७० सालमा यो रोग भयावह भएको थियो । तत्कालिन समयमा भक्तपुर जिल्लाका सबै पक्षी मारिएका थिए । यस वर्ष माघ १४ गते पहिलो पटक मोरङमा रोग देखिएको हो । चितवनमा माघ २८ गते पहिलो पटक रोग पुष्टि भएको थियो । सरकारले बर्डफ्लू देखिएका ठाउँमा नष्ट गरिएका पक्षी र सामग्रीको राहात दिने गर्दछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने मूल्य निर्धारण समितिको बैठकले तोकेको दररेटको ७५ प्रतिशत राहात रकम दिने मापदण्ड अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७