‘प्रधानमन्त्री देउवा भाजपा मुख्यालय जानु अशोभनीय र कूटनीतिक मर्यादाविपरीत’


१८ चैत्र २०७८, शुक्रबार
bjp

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीहरुको दलबलसहित भारतीय जनता पार्टी मुख्यालय जानुलाई अशोभनीय र कुटनीतिक मर्यादा विपरीत भएको विज्ञहरुले टिप्पणी गरेका छन् ।

देउवा नेपाली कांग्रेसका सभापति पनि हुन् । तर उनको यो भ्रमण कांग्रेस सभापतिका रुपमा नभई सरकार प्रमुखको हैसियतमा भइरहेको छ । त्यसैले उनी भाजपा पार्टी कार्यालय जानु कूटनीतिक मर्यादा विपरीत रहेको परराष्ट्र सम्बन्धका जानकारहरु बताउँछन् ।

परराष्ट्र मन्त्रालयका पूर्व शिष्टाचार महापाल डा. निरन्जनमान सिंह बस्नेतले प्रधानमन्त्री देउवाले भाजपा मुख्यालय भ्रमण गर्नु कुटनीतिक मर्यादा विपरीत रहेको टिप्पणी गरे । ‘अहिलेसम्म नेपालका कुनै पनि प्रधानमन्त्री भारतका पार्टी विशेषको कार्यालयमा पुगेको रेकर्ड छैन । प्रधानमन्त्री देउवा भाजपा मुख्यालय जानुभएको हो भने त्यो कुटनीतिक मर्यादा विपरीत हो । उहाँ पार्टी सभापतिका रुपमा होइन, प्रधानमन्त्रीको हैसियतमा भारत जानु भएको हो’ बस्नेतले भने ।

प्रधानमन्त्री कुनै पार्टी विशेषको कार्यालयको भ्रमणमा जाँदा त्यहाँका कांग्रेस आई लगायत पार्टीले आपत्ति जनाउन सक्नेतर्फ पनि उनले इशारा गरेका छन् । ‘यो निकै संवेदनशील विषय हो, त्यहाँ जानुअघि सोचविचार गर्नुपर्ने थियो’ मलेसियाका लागि नेपालका पूर्व राजदूत समेत रहेका बस्नेतले भने ।

भ्रमण दलमा परराष्ट्र सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गा बहादुर सुवेदी, भारत महाशाखा प्रमुख तीर्थ वाग्लेसहितका परराष्ट्र मन्त्रालयका अधिकारी साथमै छन् । तर परराष्ट्र मन्त्रालयले भ्रमणको कार्यतालिका बनाउने क्रममा नै प्रधानमन्त्री देउवाको भाजपा मुख्यालय भ्रमणको कार्यक्रम नराख्न आग्रह गर्न सक्नुपर्ने कुटनीतिज्ञहरु बताउँछन् ।
‘परराष्ट्रमन्त्री आफैं पनि भाजपा मुख्यालयमा पुगेछन् । अनि परराष्ट्र मन्त्रालयले संस्थागत रुपमा पनि प्रधानमन्त्रीलाई भाजपा मुख्यालय नजान सुझाव समेत दिन नसकेको अवस्था देखिन्छ । कुटनीतिक मर्यादा पालना भए नभएको हेर्न नसके परराष्ट्र संयन्त्रको के काम?’ परराष्ट्रकै अर्का एक पूर्व सचिवले भने ।

विगतमा त्यहाँका सत्तापक्ष र विपक्षी दलका नेता नेपाली दूतावास वा नेपालका प्रधानमन्त्री बसेका होटलमै आएर भेट्ने गर्थे । भारतका केही सञ्चारमाध्यमहरुले पनि कुनै पनि विदेशी सरकार प्रमुखहरुले भाजपाको मुख्यालय भ्रमण नगरेको भन्दै समाचार प्रकाशित गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सन् २०१५ मा भारतको राजकीय भ्रमणमा जाँदा उनलाई भारतीय नेताहरुले बारखम्बारोडस्थित दूतावासमै आएर भेटेका थिए ।

‘हाम्रो प्रधानमन्त्री भाजपाको कार्यालयतिर जाने कार्यक्रम चाहिँ बुझिएन । यस्तो परम्परा पहिले कहिल्यै भए-बसे जस्तो पनि लाग्दैन,’ नागरिक अगुवा डा. देवेन्द्र राज पाण्डेले ट्विटरमा लेखेका छन् । देउवालाई भाजपा मुख्यालयमा विशेष स्वागत गरिएको छ । भाजपा अध्यक्ष जेपी नड्डा र भाजपा नेताहरुले देउवासँग भेटवार्ता गरेका छन्।

देउवाका साथमा प्रथम पत्नी आरजु देउवा र भ्रमण दलमा सहभागी परराष्ट्रमन्त्री नारायण खड्का, कृषिमन्त्री महेन्द्र राय यादव, उर्जामन्त्री पम्फा भुषाल र स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि त्यस अवसरमा सहभागी थिए । नेपाली कांग्रेसको सभापति समेत रहेका देउवाले यो भ्रमणलाई भारतीय जनता पार्टीसँग सम्बन्ध सुधारको अवसरका रुपमा लिएको बताइएको छ । त्यही उद्देश्य लिएर देउवाले भाजपा मुख्यालयमा गएर भाजपा नेतृत्वसँग भेटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७