युक्रेन संकटका कारण उपभोक्ता आर्थिक रुपमा प्रभावित


१८ चैत्र २०७८, शुक्रबार
5b101c69c0eb48e18987f68e5c6e93f4 5b101c69c0eb48e18987f68e5c6e93f4 c66520674f71498d92a5c4ec70ebef36

बेलायत । रुस-युक्रेन द्वन्द्वले गत महिना वस्तुको मूल्य अकासिएको छ । यसले विश्वव्यापी रुपमा उपभोक्ताहरूलाई ऊर्जादेखि खानासम्मका विभिन्न वस्तुहरूको लागि बढी तिर्नुपरेको छ ।

तेल आपूर्ति अभावको डरले मूल्य अस्थिरता बढाएको छ । वैश्विक बेन्चमार्क ब्रेन्ट क्रूड प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि आरामसँग पुगेको छ, जसले पम्पको मूल्य युरोपभर नयाँ उचाइमा पुर्याएको छ । बेलायतमा पेट्रोल र डिजेलको मूल्यले ‘लगभग दैनिक’ रेकर्ड तोडेको छ । ब्रिटिश अटोमोटिभका नीति प्रमुख निकोलस लाइसका अनुसार ए ९२ पाउन्ड ९१२० डलर भन्दा बढी र डिजेल गाडी लगभग १०० पाउन्डमा भरिन्छ ।

ग्रीसमा एटिकाको ग्यास स्टेसन ओनर्स एशोसिएसनका अध्यक्ष मारिया जाग्काले इन्धनको मूल्यको अवस्था कठिन रहेको सिन्ह्वालाई बताए । ‘यस क्षेत्र, ग्यास स्टेसन मालिकहरू र उपभोक्ताका लागि चीजहरू गाह्रो छन् । इन्धन अब एक प्रकारको विलासिता उत्पादन हो र हामी यो एक सामाजिक वस्तु हो भनेर बिर्सन्छौं । मानिसहरूलाई काममा जान यो आवश्यक छ’, जाग्काले भने ।

डेनमार्कले पनि राम्रो प्रदर्शन गर्न सकेन । स्थानीय ग्यास स्टेसनका ग्राहक ड्यारियस कोलोड्जिएस्कीका अनुसार गत वर्षको अक्टोबर वा नोभेम्बरमा आफ्नो सानो कार अधिकतममा भर्न करिब ४०० डेनिस क्रोन (६० डलर) खर्च भएको थियो, तर मार्चमा मूल्य बढेर पूरा ट्याङ्क भर्न करिब ५१० क्रोन तिर्नुपरेको छ । ‘म भन्न चाहन्छु कि यो धेरै उच्च छ’, कोलोड्जिएस्कीले भने, ‘मलाई लाग्छ मूल्यहरू यति उच्च माथि हुनु यो थोरै पागलपन नै हो ।’

तेलको मूल्य बढेसँगै उपभोक्ताले आफ्नो खर्च कटौती गर्ने निणर्य गरेका छन् । ‘पेट्रोल स्टेसनमा गएर दैनिकरूपमा मूल्य बढ्दै गएको देख्दा मलाई ठूलो आश्चर्य लाग्यो’, डेनमार्कका पेन्सनर निगेल बर्नार्डले भने, ‘यसको मतलब यो हो कि जब तपाइँ अन्य चीजहरूका लागि किनमेल गर्नुहुन्छ, तपाई धेरै किन्न चाहनुहुन्न किनभने तपाईँ यस तरिकाले पैसा गुमाउँदै हुनुहुन्छ । त्यसैले, हो, यो समस्या हो ।’

युरोप बाहिर प्रभाव

धेरैले युक्रेन सङ्कटसँगको निकटता र रुसको ऊर्जामा निर्भरताका कारण युरोपले स्पिलओभरको असर लिने धारणा राखेका थिए । द्वन्द्वको विकास र विश्वव्यापी बजारमा धक्का लाग्दा विश्वव्यापी उपभोक्ताहरूले पीडा महसुस गरिरहेका छन् ।
अमेरिकामा खुद्रा पेट्रोल मूल्यहरू मार्चमा रेकर्ड उच्चमा पुग्यो, जुन जुलाई २००८ मा देखिएको ४.१६५ डलरप्रति ग्यालनको अघिल्लो उचाइभन्दा माथि पुग्यो । ऊर्जा परामर्श वुड म्याकेन्जीका विश्लेषक एड क्रुक्सका अनुसार अमेरिकी घरायसी बजेटमा ग्यास ठूलो कारक हो ।

क्रुक्सका अनुसार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक नजरले हजारौं अमेरिकीहरूले इन्धनको मूल्यको बारेमा गुनासो वा तीतो मजाकहरू गरेको पोस्टहरू देखाउँदछ । ‘जब सामाजिक सञ्जालमा देखा पर्न थाल्छ, तपाईं भन्न सक्नुहुन्छ ऊर्जा एक महत्त्वपूणर् राजनीतिक मुद्दा भएको छ’, क्रुक्सले भने ।

अफ्रिकाका मोटर चालकहरूले पनि बढ्दो मूल्यको डङ्का महसुस गरेका छन् । ‘यसले केही फरक पर्दैन भनेर कसैले भन्न सक्दैन । किनकि आजकल यो ठूलो कुरा हो’, रुवान्डाको राजधानी किगालीमा बस्ने इशिमवे एरिकले भने, ‘तपाईंले एक हजार एफआरडब्लु (लगभग ९.९ डलर) को पेट्रोल राख्नुभयो भने अलिकति अगाडि गएर पेट्रोल सकिएको महसुस गर्नुहुन्छ । गम्भीररूपमा यो धेरै निराशाजनक छ। यो गाडी चलाउने मानिसहरूलाई धेरै गाह्रो छ ।’

ऊर्जाको बढ्दो मूल्यहरुको परिणाम तीव्ररुपमा बढ्न सक्छ जसले जीवनयापनको लागत बढ्न सक्छ । किगाली निवासी केली रुवामापेराले दैनिक उत्पादनहरूको मूल्य धेरै पहिले नै बढेको बताए । युक्रेन र रुस जस्ता देशहरू ऊर्जा र धेरै कृषि उत्पादनहरूका प्रमुख निर्यातकहरू हुन् भनी उल्लेख गर्दै रुवामापेराले भने, ‘हामी थप मूल्यहरू बढ्ने आशा गर्दछौँ ।’

मध्यपूर्वका धेरै देशहरूले अनाज, तेल र मासुको मूल्य पनि बढेको अनुभव गरेका छन् । विश्वको सबैभन्दा ठूलो गहुँ आयातकर्ता मुलुक इजिप्ट हो । कायरो चेम्बर अफ कमर्सको बेकरी डिभिजन प्रमुख अतिया हम्मादका अनुसार त्यहाँ मार्चमा एक टन पीठोको बजार मूल्य बढेर ११,००० इजिप्सियन पाउन्ड (६०० डलर) पुगेको छ, जुन एक महिना अघि ९,००० पाउन्ड थियो ।
वासिङ्टन-आधारित मध्य पूर्व संस्थानका अतिथि विश्लेषक क्रिस्टियन-डान टाटारुले खाद्यान्नको मूल्य अरब संसारमा सन् २०११ को राजनीतिक उथलपुथलभन्दा पहिलेको स्तरमा पुगेको बताए ।

कुनै द्रुत समाधान छैन

विश्लेषकहरूले रूस विरुद्ध प्रतिबन्धहरू युरोपको खर्चमा आएको टिप्पणी गरेका छन् । क्रोएसियाली ऊर्जा विशेषज्ञ इगोर ग्रोजडानिकले सिन्ह्वासँगको एक अन्तर्वार्तामा प्रतिबन्धहरू विशेष गरी ऊर्जा उद्योगका लागि ‘समस्याग्रस्त’ रहेको बताए । ‘सबैभन्दा कमजोर जर्मनी हो । त्यहाँ पर्याप्त प्राकृतिक ग्यास छैन’, ग्रोजडानिकले भने, ‘भाग्यवश नर्ड स्ट्रिम १ अझै पनि सञ्चालनमा छ । यदि नर्ड स्ट्रिम १ बन्द भयो भने यो जर्मनी र युरोपेली सङ्घका लागि विपत्ति हुनेछ, त्यसैले स्थिति राम्रो छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७