राष्ट्रपतिविरुद्धको प्रदर्शन उग्र बनेपछि श्रीलंकामा संकटकाल घोषणा


१९ चैत्र २०७८, शनिबार
srilanka 9iVM8nbdYf

कोलम्बो । श्रीलंकामा राष्ट्रपतिविरुद्धको प्रदर्शन उग्र बनेपछि संकटकाल घोषणा गरिएको छ । श्रीलंकामा आर्थिक संकट, खाद्यान्न अभाव, महंगी र लोडसेडिङको विरोधमा आन्दोलन चर्किएको छ ।

प्रदर्शनकारीले राष्ट्रपति गोटबाया राजपाक्षेको निवास बाहिर कर्फ्यु तोडेर प्रदर्शन गरेपछि संकटकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रु ग्याँस प्रहार गरेको छ । त्यस क्रममा झडप समेत भएको छ । विरोध प्रदर्शनपछि राजधानी कोलम्बोमा प्रहरीको उपस्थिति बढाइएको छ । प्रहरीले ५४ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

स्थिति थप गम्भीर हुन सक्ने भन्दै राष्ट्रपति राजपाक्षेले संकटकाल घोषणा गरेको खबरमा उल्लेख छ । श्रीलंकाको पश्चिमी प्रान्तमा आजदेखि लागू हुने गरी मध्यरातिदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागेको छ । श्रीलंकामा अहिले नियमित रुपमा दैनिक १३ घण्टा लोडसेडिङ हुँदै आएको छ भने खाद्यान्नदेखि पेट्रोलियम पदार्थ किन्न समेत हम्मेहम्मे परेको छ ।

श्रीलंकाको आर्थिक संकटको मुख्य जड वैदेशिक मुद्राको सञ्चिति शक्तिशाली नहुनु नै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वैदेशिक सञ्चिति स्वाट्टै घट्नुमा मुख्यतया पर्यटन क्षेत्र खस्कनु, अर्गानिक खेतीमा समस्या देखिनु र वैदेशिक ऋण नै भएको भनिएको छ ।

श्रीलंकाको अर्थतन्त्रको एक प्रमुख हिस्सा पर्यटन क्षेत्र हो । अर्थतन्त्रको १० प्रतिशत कुल गार्हस्थ उत्पादनको हिस्सा पर्यटन क्षेत्रको छ । तर, सन् २०१९ को अन्तिमबाट कोभिड-१९ आतंक शुरू भएसँगै श्रीलंकाको यो महत्वपूर्ण आर्थिक क्षेत्र ठप्प भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७