जनकपुर-जयनगर रेलको आज उद्घाटन, भोलिदेखि नियमित चल्ने

रेल चढ्न परिचय पत्र अनिवार्य


१९ चैत्र २०७८, शनिबार
FPT0XcqUYAACGJf

काठमाडौं । जनकपुर- जयनगर खण्डमा चल्ने रेलको आज (शनिबार) उद्घाटन हुँदैछ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्न लागेका हुन् ।

आज दिउँसो दुवै प्रधानमन्त्रीले नयाँदिल्लीमा रहेको हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर उद्घाटन गर्ने कार्यक्रम छ । आज उद्घाटन भएपछि भोलिदेखि रेल नियमित रुपमा चलाउने तयारी छ । दिनको दुई पटक जयनगरबाट रेल गुड्ने नेपाल रेलवे कम्पनीले जानकारी दिएको छ ।

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्ने छ । दुई घण्टामा कुर्था स्टेसन पुग्ने बताइएको छ । कुर्थाबाट पौने ११ बजे जयनगरका लागि रेल प्रस्थान गर्ने समय तालिका छ । सो रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्नेछ । जयनगर गएको रेल पुनः ३ बजे फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका सवा ५ बजे फर्कने गरी तालिका निर्धारण गरिएको छ ।

कम्पनीकाअनुसार दुवै रेल एकैचोटी चलाउँदा बिग्रिन सक्ने भएकाले मर्मत गर्दै आलो-पालो चलाउने तयारी छ । एकपटमा एउटा रेलमा १,३५० यात्रुले यात्रा गर्न सक्ने कम्पनीको भनाइ छ । रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको रेलवे कम्पनीले जनाएको छ ।

जनकपुर-जयनगर ७० र कुर्था-जयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ । एसी सिटका लागि भने जनकपुर-जयनगर ३५० र कुर्था-जयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको कम्पनीले जनाएको छ । २०७७ असोजमा दुवै रेल सेट भारतबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएकोमा गएको फागुन १ गतेदेखि ‘ड्राई रन’ अर्थात यात्रु नराखी चलाउन थालिएको थियो । जनकपुर-जयनगर रेल उद्घाटन कार्यक्रममा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव शुक्रबार जनकपुर आइसकेकी छिन् ।

दुई देशीय यात्रा भएका कारण दुवै देशका नागरिकलाई रेल चढ्न पहिचान खुल्ने प्रमाण पत्र बोक्नुपर्नेछ । नेपाली नागरिकलाई नागरिकताको प्रमाण पत्र, पासपोर्ट या मतदाता परिचय पत्र अनिवार्य बोक्नुपर्नेछ । भारतीय नागरिकलाई पनि पहिचान खुल्ने परिचय पत्र बोक्नुपर्ने महाप्रबन्धक झाले बताए । १० देखि १८ वर्षसम्मका बालबालिकाको हकमा भने विद्यालयको परिचय पत्र बोक्नुपर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७