जग्गा ‘प्लानिङ’ गर्न खनिएको ढिस्कोमा पुरिएर भक्तपुरमा दुई जनाको मृत्यु


१९ चैत्र २०७८, शनिबार
dhisko

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथलीमा भिरालो जग्गामा चम्पा कुस्माले गरेको प्लटिङमा पर्खाल लगाउने क्रममा झरेको ढिस्कोले पुरेर दुई जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका-३ घरभई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ घर भई भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

जग्गामा पर्खाल लगाउने क्रममा अचानक आएको ढिस्कोले पुर्दा शुक्रबार दिउँसो दुई जनाको मृत्यु भएको हो । चम्पा भन्नेको जग्गा प्लानिङ हो भन्ने सुन्नमा आए पनि खासमा कसको जग्गा प्लानिङ हो भन्नेबारेमा यकिन नभइसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लामो समयदेखि जग्गाको कारोबार गर्दै आएकी चम्पा कुस्मा प्रहरीको उच्च अधिकारीको पत्नी भएको प्रहरीको दाबी छ । प्रहरीले शव छिटो लगेर घटनाको गम्भीररूपमा अनुसन्धान नगर्न खोजेको भन्दै स्थानीयले घट्नास्थलमै विरोध गरी शव लैजान रोक्न खोजेका थिए ।

स्थानीय प्रत्यक्षदर्शीले भने भिरालो जग्गालाई सम्याएर पुरेको माटोको ढिस्को माथिबाट खसेर पर्खाल लगाउँदै गरेको मजदुर पुरिएको जानकारी दिएका छन् । स्थानीय राजेन्द्र थापाले पर्खाल लगाउने क्रममा माथिबाट आएको ढिस्कोले पुरेर दुई मजदुरको मृत्यु भएपछि तीन ट्रक प्रहरी आएर शव लैजान खोज्दा स्थानीयले विरोध गरेको जानकारी दिए ।

मजदुरको बिमा नभएको, जथाभावी प्लानिङ गरेर ज्यान गएको भन्दै उनीहरुले प्लानिङको स्वीकृति दिनेदेखि प्लानिङ गर्ने र पर्खालको ठेक्का लिने सबैको घट्नामा लापर्वाही भएको बताए । घट्नास्थल पुगेका स्थानीयले सस्तोमा भिरको जग्गा किनेर डोजरले सम्याएर भिरमा गरिएको जग्गा प्लानिङले एकातिर दुई जनाको ज्यान गएको र यस्तो जग्गा किनेर घर बनाउने सयौंको ज्यान जोखिममा पर्ने सम्भावना रहेको भन्दै भिरपाखा मासेर जग्गा प्लानिङ गर्ने र स्वीकृत दिने निकायलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

प्रहरीले घट्ना दिउँसोको भए पनि राति करिब ८ बजे शवलाई परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको छ । घट्नाबारे विस्तृत अनुसन्धान भइरहेको प्रनाउ पाण्डेको भनाइ छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७