असारसम्म सुन्दरीजलबाट पशुपतिसम्मको वागमती ढलमुक्त गरिने


१९ चैत्र २०७८, शनिबार
Bagmati 5

काठमाडौं । आगामी असार मसान्तसम्म सुन्दरीजलबाट पशुपतिसम्मको वागमती नदीलाई ढलमुक्त गर्ने प्रतिबद्धता जनाइएको छ ।

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार भक्तपुरको नगरकोटमा आयोजना गरेको ‘वागमती नदी सरसफाइ, सभ्यता संरक्षण तथा प्रवद्र्धनात्मक कार्यक्रमको महत्व र सान्दर्भिकता’ विषयक छलफल कार्यक्रममा वागमतीको मुहानस्थल सुन्दरीजलबाट पशुपतिसम्मको नदीलाई ढलमुक्त गर्ने सम्बन्धमा सुझाव दिन सरोकार भएका निकायको प्रतिनिधि सदस्य रहेको पाँच सदस्यीय समिति गठन गरिएको जानकारी गराइएको छ ।

कार्यक्रममा समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले पाँच जनाले नभ्याए जनशक्ति थप्न सकिने उल्लेख गर्दै पशुपति क्षेत्रसम्मको नदीलाई ढलमुक्त गर्न आवश्यक बजेटको समेत व्यवस्था हुने बताए । वागमतीसँग सरोकार भएका सबै निकायसँग छलफल गरेर वागमती कार्ययोजना तयार पार्न गृहकार्य शुरु भएको जानकारी पनि उनले दिए ।

शीरदेखि वागमती सफाइ गर्ने अभियानमा सफाइ महाअभियानको ठूलो योगदान हुनुपर्ने उल्लेख गर्दै उनले सबैको सहयोग जुटाएर यो काम सफल गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा समितिका कार्यकारी सदस्य एवं सफाइ अभियानकर्मी डा. माला खरेल, आयोजना प्रमुख नवराज प्याकुरेल, कार्ययोजना निर्माण कार्यदलका समूह संयोजक डा. सुधा श्रेष्ठ र काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन एकाइका परामर्शदाता भरत महर्जनले नदी सफाइका लागि गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७