नोबेलका चिकित्सक डेरा बसेको घरकै कम्पाउण्डमा मृत भेटिए


१९ चैत्र २०७८, शनिबार
dr mritu photo 2 20220402090322

मोरङ । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक विजय यादव शनिबार बिहान मृत भेटिएका छन् । अस्पताल नजिक डेरा बसेको घरको कम्पाउण्डभित्र बिहान ७ बजेतिर उनी मृत फेला परेको प्रहरीले जनाएको छ । शव अहिले घटनास्थलमै छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका-१ घर भएका अन्दाजी २७ वर्षीय डा. यादव विगत ४ वर्षदेखि विराटनगर-४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलाको कोठा भाडामा लिएर डेरा बस्दै आएको प्रहरीले जानकारी दिएको छ ।

घोप्टो परेको, नाक र मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको कोठाबाट मुनिको भुइँमा उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनले घटनाको जानकारी पाउन साथ प्रहरी परिचालन गरेर अनुसन्धान थालिएको बताएका छन् ।

डीएसपी श्रेष्ठका अनुसार डा. यादवको मृत्युको कारण खुल्न सकिरहेको छैन । यद्यपि घटनास्थलको प्रकृति हेर्दा हामफालेर उनले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । श्रेष्ठले शव पोस्टमार्टमका लागि पठाएर घटनाको थप अनुसन्धान अघि बढाइने बताए । अनुसन्धानपछि मृत्युको कारण यकिन हुने उनको भनाइ छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार डा. यादव नोबेलको हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत मेडिकल अफिसर हुन् । उनी ४ वर्षअघिदेखि नोबेलमा कार्यरत रहेको दाहालले बताए । उनका अनुसार नोबेलले शुक्रबार मोरङको कटहरीमा आयोजना गरेको स्वास्थ्य शिविर सञ्चालनका लागि पनि डा. यादव पुगेका थिए । शिविर सकिएपछि अरु चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीसँगै फर्किएर आफ्नो डेरातर्फ लागेका उनी बिहान मृत फेला परेको जानकारी दाहालले दिए ।

‘घटना कसरी भयो भनेर यकिन हुन सकिरहेको छैन । अनुसन्धानका लागि घटनास्थलमा प्रहरी टोली खटिएको छ,’ उनले भने, ‘यादव राम्रा, अनुभवी र दक्ष चिकित्सक थिए । मृत्युको खबरले हामी पनि अचम्ममा परिरहेका छौं ।’ आफन्तले भने घटना शंकास्पद रहेकाले गम्भीर ढंगले अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरेका छन् । मृत फेला परेका डा. यादवको सप्तरीस्थित घरमा रहेका परिवारका सदस्यलाई पनि घटनाका बारेमा जानकारी गराइसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७