कांग्रेसको ६७ सदस्यीय निर्वाचन प्रचार समिति, वडासम्मै संयन्त्र बनाइने


१९ चैत्र २०७८, शनिबार
sanepa congress

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ मा सदस्य मनोनीत गरेका छन् ।

उनले यही चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको निणर्यानुसार केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत संयोजकत्वको समितिलाई शुक्रबार पूणर्ता दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

समितिको सदस्यमा केन्द्रीय सदस्य जीपछिरिङ लामा, दिपक गिरी, अजयकुमार चौरसिया अम्बिका बस्नेत, पुष्पा भुसाल, गोविन्द भट्टराई, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाईं, बहादुरसिंह (लामा) तामाङ, अमृत अर्याल, रामजनम चौधरी, डा गोपाल दहित, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, धु्रव वाग्ले, दिनेशकुमार यादव, टेकबहादुर गुरुङ, प्रदीपकुमार सुनुवार, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, अब्दुल सत्तार, राजीव ढुङ्गाना, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी र उमेश श्रेष्ठ रहेका छन् ।

यसैगरी केन्द्रीय सदस्य राजीवविक्रम शाह, विनोदकुमार चौधरी, चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, मोहन आचार्य, जावेदा खातुन जागा, नागिना यादव, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, दिनेश कोइराला, उर्मिला नेपाल केसी, सुशीला थिङ, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सिना र शान्ति परिवार विक समितिको सदस्यमा मनोनीत भएका छन् ।

यस बाहेक समितिको सदस्यमा पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थाका अध्यक्ष पदेन सदस्य हुने गरी मनोनीत गरिएको पार्टी कार्यालयले जनाएको छ ।
वडा तहसम्मै प्रचार संयन्त्र तयार गर्ने
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत बनाउन वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको अध्यक्षतामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो । प्रदेश, जिल्ला, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ, नगर र वडा कार्यसमितिमा आवश्यकताअनुसार प्रचार संयन्त्रको गठन गर्ने भएको समितिले जनाएको छ ।

समितिको शुक्रबार बसेको बैठकले तत्कालै केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र (मिडिया सेन्टर) स्थापना गर्ने निणर्य पनि गरेको छ । प्रदेश र स्थानीय तहमासमेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने, स्थानीय तहका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी स्थानीय तहसम्म सम्प्रेषण गर्ने समितिले निणर्य गरेको छ ।

समितिले पार्टीको प्रचार प्रसारका लागि आवश्यक प्रचार सामग्री निर्माण गर्ने र रेडियो, एफएम, टिभी, छापामाध्यम, अनलाइन तथा सामाजिक सञ्जाल जस्ता विभिन्न माध्यमबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने जनाएको छ । समितिले उक्त कार्यका लागि पार्टी सम्बद्ध भ्रातृ एवं शुभेच्छुक संस्था, विज्ञ बुद्धिजीवी, सञ्चारकर्मी र अन्य पेशागत संस्था र शुभेच्छुकलाई परिचालन गर्ने तथा प्रचार सामग्री, उत्पादन तथा सञ्चारका लागि आवश्यक उपसमिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिले कांग्रेसका सम्पूणर् जानकारी दिन मिल्ने गरी एक एप बनाउने र त्यसलाई प्रचारप्रसारका लागि उपयोग गर्ने तथा आवश्यकताअनुसार परिस्कृत गर्दै जाने तयारी गरेको छ ।

समितिको शुक्रबारको बैठकले प्रत्येक क्षेत्रीय कार्यसमितिलाई आफूभित्रका पालिकामा प्रचारप्रसार समिति गठन गर्न र त्यस्ता समिति गठन गर्दा नेपाल प्रेस युनियनसँग समन्वय गर्न पनि आग्रह गरेको छ । समितिले पार्टीको घोषणापत्र, प्रचारप्रसार सामग्री र नारा तयार गर्दा कांग्रेसको सरकार र कांग्रेस विजयी भएको स्थानीय तहले देश र जनताको हितमा गरेका काम र आगामी निर्वाचनमा विजयी भएपछि गर्ने भावी कार्यक्रम जनतासम्म पुर्‍याउने गरी काम गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७