ओलीप्रति महतको आक्रोश : बोलाउँदा आउँदिन भन्ने, अहिले आरोप लगाउने ?

‘प्रधानमन्त्रीले भारत भ्रमणमा जाँदा एमालेलाई वेवास्ता गरेको आरोप सरासर झूटो’


१९ चैत्र २०७८, शनिबार
Prakashsharan mahat
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमण पूर्व प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्षलाई वास्ता नगरेको भन्ने भनाइमा सत्यता नरहेको स्पष्ट पारेका छन् ।

आज (शनिबार) नेपाल लोकतान्त्रिक खेलकुद संघ वागमती प्रदेशद्वारा काठमाडौंमा आयोजित दोस्रो किसुनजी स्मृति राष्ट्रिय खुला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता पुरस्कार वितरण कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्रीले कुराकानी पनि गर्नु भएन, छलफलमा बोलाउनु भएन, फोन समेत गर्नु भएन, वास्तै गर्नु भएन भन्ने जुन प्रचार एमाले अध्यक्ष ओलीका निकटस्तहरुबाट भइरहेको छ, त्यो सरासर असत्य हो ।’

प्रधानमन्त्रीले छलफलका लागि बोलाएको तर ओली बाहिर हुन्छु भन्दै आउन नसक्ने बताएको कांग्रेसका प्रवक्ता डा. महतले जानकारी दिए । ‘आफू आउन नसक्ने । आउँदिनँ भन्ने अनि अहिले आरोप लगाउने ?’, उनको प्रश्न छ ।

उनले आफू परराष्ट्रमन्त्री हुँदा पनि र नहुँदा पनि विदेशी मित्रराष्ट्रका प्रतिनिधिहरुसँग नेपालका हित र चासोका विषय स्पष्ट राख्ने गरेको बताए । उनले भने, ‘पूर्व प्रधानमन्त्री ओलीजी जनतातिर फर्केर राष्ट्रियताका कुरा गर्नु हुन्छ, तर सम्बन्धित ठाउँमा कुरा राख्न सक्नु हुन्न । उहाँले राख्दै राख्नु भएन ।’

कांग्रेस प्रवक्ता महतले प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नेपालको हित र राष्ट्रिय चासोका सबै विषयहरु उठाउने दाबी गर्दै उनले भने, ‘उहाँले सबै कुरा उठाउनु हुन्छ । तत्काल भोलि नै टुंगो लाग्छ भन्ने होइन, तर विषय उठाउनु हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७