चैत मसान्तभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउँछौं : मन्त्री चौधरी


१९ चैत्र २०७८, शनिबार
Umakanta Chaudhary

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने बताएका छन् ।

बिहीबार मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरेअनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने बताएका हुन् । मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि तीव्रगतिमा कार्ययोजना अनुसार नै मुहान सफा गर्ने काम भइरहेको उनकाे भनाइ छ ।

मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभइ उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाउँदै अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको बताए । संरचनालाई स्थायी बनाउनको लागि एसियाली विकास बैंकले अध्ययन गरिरहेको उनको भनाइ छ । उनले मुहानमा ९० प्रतिशत सफाइको काम सकिएको जानकारी दिए । त्यस्तै, हेल्मबु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौं वासीलाई मेलम्चीको पानी खुवाउने हेलम्बु गाउँपालिकाको पनि दायित्व रहेको बताए ।

हेल्मबु गाउँपालिकाले काठमाडौं वासीलाई मेलम्चीको पानी खुवाउने दायित्व पूरा गर्ने तर काठमाडौंवासीले शुल्क तिर पानी खाँदा हेल्मबुका जनतालाई २५ प्रतिशत हिस्सा पाउनुपर्ने माग राखे । शेर्पाले हेल्मबुले पहिलादेखि यो माग राख्दै आएकाले मेलम्चीको पानी शुल्क तिरेर काठमाडौंका जनताले खानुपरेको अवस्थामा हेल्मबुवासीले हिस्सा नछोड्ने दाबी गरे ।

सरकारले मेलम्चीको पानी काठमाडौंमा लग्ने मात्रै नभएर पानीको मुहानको संरक्षण र प्रभावित क्षेत्रका जनतालाई दिएको राहतले नपुग्ने भन्दै राहत थप गर्न सरकारसँग माग गरे । त्यस्तै, मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले महानबाट टनेल सफा गर्न १७ नम्बर गेट खुल्ला गरेर काम अगाडि बढाएको जानकारी दिए । मेलम्ची खानेपानीको मुहानको बाहिर काम सकिएको उनले बताए ।

टनेलभित्र भएको लदो माटो सफा गर्नको लागि सबै गेट खोल्ने तयारीमा रहेको कुँवरले जानकारी दिए । गेट खोलेर टर्नेल सफा गर्दै ७ दिनमा मेलम्चीको पानी सुन्दरीजल पुर्‍याउने योजना अनुसार काम भइरहेको कुँवरले बताए । मेलम्चीमा गत असार १ गते आएको बाढीका कारण लेदो सुरुङभित्र पसेको थियो । सुरुङमा पसेको लेदो हटाउन अझै दुई-तीन दिन लाग्नेछ । १७ नम्बरको ढोका खोलिसकेकाले सुरुङ्मार्ग सफाइको काम अगाडि बढाएको छ ।

मेलम्चीमा १, ९, १७, ३८ र २१ गरेर पाँच वटा मुख्य गेट छन् । मुख्यतया पानी पठाउनका लागि आवश्यक पर्ने गेट ९, ३८ १७ र २१ नम्बरका हुन् । यीमध्ये ३८ नम्बर गेट खुलिसकेको छ । बाढीको कारण मेलम्ची खानेपानी आयोजनाको हेडबक्सको संरचना २० देखि ३० फिटसम्म पुरिएको थियो । बाढीले हेडवक्र्स डाइभर्सन टनेल र अम्बाथान अडिट टनेल पनि गेग्रान भरिएको थियो तर पनि सरकारले हेडवक्र्सका गेग्रान हटाइ फास्ट-ट्रयाकमा सुरुङ सफा गरेर मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी गरेको छ ।

असारको पहिलो साता आएको बाढीले मेलच्ची आयोजनामा ठूलो क्षति पुर्‍यायो । निर्माण सामग्रीसहित स्थायी संरचना पुगेको क्षतिले आयोजनालाई पुनः पछि धकेलेको थियो । यसले काठमाडौंबासीलाई मेलम्चीको पानी कहिलेदेखि उपलब्ध हुन्छ भनेर यकिन थिएन तर मन्त्री सरकारले चैत मसान्तमा नै पानी ल्याउने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७