अमेरिकी र नेपाली सेनाबीच आइतबारदेखि संयुक्त तालिम शुरु हुँदै


१९ चैत्र २०७८, शनिबार
nepal america army 1140

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम ‘ब्यालेन्स नेल’ आइतबारदेखि सुरु हुँदैछ । सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ हुन लागेको हो ।

अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्तबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए । हालसम्म व्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन् । उनका अनुसार रेञ्जर फौजका करिब चार हजार सकल दर्जालाई यस्तो तालिम प्राप्त भइसकेको छ ।

प्रवक्ता सिलवालले भने, ‘यस पटकको ब्यालेन्स नेल चैत २० देखि वैशाख १३ गतेसम्म रेञ्जर गणको सिंह महावीर योजना तथा समन्वय महाशाखा छाउनी र रेञ्जर तालिम केन्द्र नगरकोटामा सञ्चालन हुनेछ ।’ संयुक्त राज्य अमेरिकाका २० सैनिक र नेपाली सेनाका ९० सैनिक तालिममा सहभागी हुँदैछन् ।

तालिममा द्वन्द्वका समयमा मानवअधिकार एवं कानुनको परिपालना, जङ्गल वारफेयर र सैनिक ट्याक्टिसलगायत अरु विषयमा समेत व्यवहारिक अभ्यास र ज्ञान दिइनेछ । यस्ता तालिमबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न योगदान पुग्नेछ ।

परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको समन्वय र स्वीकृतमा सञ्चालन भएको उक्त तालिम फिल्ड, टेबल र कक्षाकोठामा सञ्चालन हुनेछ । अमेरिकाले विश्वका विभिन्न देशसँग यस किसिमका संयुक्त अभ्यास गर्दै आएको छ । दुई साताअघि अमेरिकी सेना र नेपाली सेनाको मेडिकल जनशक्तिबीच समेत संयुक्त तालिम सञ्चालन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७