पेट्रोलियम पदार्थ आपूर्तिको समस्या तत्काल समाधान गर्न मन्त्री खाँणको निर्देशन


१९ चैत्र २०७८, शनिबार
Balkrishna khad 1

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । आपूर्ति सचिव डा. गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव विश्व अर्याललाई शनिबार टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् । उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा नचाहँदै कठोर हुनुपर्ने पनि बताएका थिए ।

व्यवसायीहरूले पेट्रोलियम पदार्थ बेचे/नबेचेको अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्रीले आफूहरूलाई निर्देशन दिएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहयोगमा अनुगमन गरेको निगमका कार्यवाहक महानिर्देशक गोइतले जानकारी दिए ।

‘मन्त्री ज्यूबाट पेट्रोलियम पदार्थ बिक्री-वितरण भए/नभएको काठमाडौं जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा उपत्यकाका पम्पहरूमा अनुगमन गर्न निर्देशन भएको थियो’, कार्यवाहक महानिर्देशक गोइतले भने, ‘हामीले उहाँको निर्देशनअनुरूप उपत्यकाका २० बढी पम्पहरूमा अनुगमन गरेका छौँ । केहीले बेचेको, केहीले नबेचेको पायौँ । भोलि थानकोटको डिपो खुला हुन्छ । त्यहाँ गएर ल्याएर बेच्न भनेर कागज गराएर आएका छौँ ।’

डिलर्स एशोसिएसनका महासचिव अर्यालले पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरेर टुंग्याउन निर्देशन दिएको जानकारी दिए । ‘पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरेर टुंग्याउन निर्देशन दिनुभएको हो’, अर्यालले भने, ‘हामीले हाम्रा माग सामान्य छन्, निगमलाई भनिदिनोस्, हामी वार्तामार्फत सहमति गर्न तयार छौं भन्यौं ।’

व्यवसायी र डिजेल ढुवानीकर्ताहरूले डिजेलको भाउ बढेपछि भाडा पनि बढाइनुपर्ने, डिजेल पेट्रोल बोक्ने ट्यांकरको भाडा बढाइनुपर्नेलगायत माग राखेर पेट्रोलियम पदार्थ बिक्री-वितरण नगर्ने चेतावनी दिइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७