चुनावी तालमेलबारे प्रचण्डले पेस गरेको ‘मोडालिटी’ मा शेखर कोइरालाको आपति

‘प्रचण्डले कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?’


१९ चैत्र २०७८, शनिबार
shekhar koirala

पाेखरा । सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको गठबन्धनले मूर्तरूप नलिने बताएका छन् । विचार नै नमिल्ने पार्टीहरूबीच गठबन्धन भएकाले नतिजा सोचे जस्तो नआउने उनले जिकिर गरेका छन् ।

‘निर्णय कार्यान्वयन गर्न अत्यन्तै गाह्रो छ, विचारै नमिल्ने पार्टीसँग तालमेल गरेर जानुपरेको छ, गर्ने त भनिदियो तर कसरी ?,’ उनले भने, ‘अघिल्लो पटक जुन-जुन पार्टीले जितेको छ, त्यो ठाउँमा सोही पार्टीलाई दिने र एमालेले जितेको ठाउँमा दोस्रो पार्टीलाई दिने प्रस्ताव प्रचण्डजीले गर्नुभो । ५८५ पालिका कांग्रेसलाई दिन सक्नु हुन्छ ?’

पोखरामा प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले प्रचण्डले भरतपुरलाई मात्रै हेरेर गठबन्धन प्रस्ताव गरेको आरोप लगाएका छन् । ‘३१९ पालिकामा हामी दोस्रो भएका छौं । २६६ मा हामी पहिलो भएका छौं । पहिलो र दोस्रोसहित लिँदा कांग्रेसको भागमा ५८५ पालिका पर्छ । भरतपुरलाई दिमागमा राखेर मात्रै बहस भइरहेको छ,’ उनले भने, ‘उनको प्रस्तावअनुसारको पालिका दिन साँच्चै तयार हुनुहुन्छ ? त्यो गर्न सक्नु हुन्छ ?’

सरकार गठनको बेला गरिएको गठबन्धन चुनावसम्म लैजाँदा नकारात्मक असर पर्ने उनले तर्क गरेका छन् । ‘दुई वटा धार जस्तो बन्यो । एउटा धार गठबन्धन गर्ने र अर्को गठबन्धन नगर्ने । हिजो गठबन्धन किन गर्‍यौं भन्दा तत्कालीन सरकारले संविधान कुल्चिएर अगाडि बढ्न थाल्यो । नेपाली कांग्रेसको नेतृत्वमा अरु दल सामेल भए,’ कोइरालाले भने, ‘त्यो गठबन्धन निर्वाचनसम्म जानुपर्छ भन्ने तर्क छ । सरकार सञ्चालन गर्ने गठबन्धन एउटा हो, निर्वाचनमा तालमेल गर्नु अर्को हो भन्ने बुझ्नु जरुरी छ । त्यो नबुझिकन गठबन्धनलाई निरन्तरता दिनु अलि मिल्दैन ।’

कोइरालाले अघिल्लो निर्वाचनपछि ३६ लाख नयाँ मतदाता थपिएको भन्दै उनीहरूका लागि पनि सोचेर निणर्य लिन आग्रह गरे । ‘पहिलो पटक उनीहरूले मत दिँदैछन् । उनीहरूलाई हँसिया हथौडामा भोट हाल भन्यौं भने आमनिर्वाचन र त्यसपछिका चुनावमा रुखमा मत हाल भनेर कसरी भन्ने ? यो गम्भीर विषय हो,’ उनले थपे, ‘यो कुरालाई कसरी म्यानेज गर्ने ? तालमेल गर्ने कुरालाई म खराब भन्दिनँ । तर, यो कुरालाई पनि हामीले मध्यनजर गर्नुपर्छ । एकातिर घरघर जाऔं कांग्रेस जिताऔं भनेका छौं । अर्कोतिर माओवादीलाई भोट हाल भनेका छौं । यो त मिलेन नि ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष चुनावी तालमेलका लागि ‘मोडालिटी’ प्रस्तुत गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलबीच तालमेल गर्दा पालिका के कसरी भागबण्डा गर्ने भन्ने विषयमा प्रचण्डले देउवाकहाँ प्रस्ताव पेस गरेका हुन् । नेता डा. शेखर कोइरालाले प्रचण्डले चुनावी तालमेलको ‘मोडालिटी’ तयार पारेको जानकारी गराउँदै यस्तो असहमति व्यक्त गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७