नोवेलका डाक्टरको हत्याको आशंका, शंकास्पद ६ जना पक्राउ


२० चैत्र २०७८, आईतवार
11223 20220402203114 87ELXOkAYU

मोरङ । विराटनगर महानगरपालिका ४ स्थित डेरा बसेको घरमा शनिबार विहान मृत फेला भेटिएका डाक्टर विजय यादवको हत्या भएको आशंका प्रहरीले गरेको छ । विराटनगरस्थित नोवेल अस्पतालमा कार्यरत चिकित्सक यादव शनिबार बिहान डेरा बसेको घरकै कम्पाउण्डभित्र मृत भेटिएका थिए ।

आफन्तले डा. यादवको हत्या भएको आशंका गरेपछि प्रहरीले शंकास्पद ६ जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । मृतकका आफन्तले शनिबार दिउँसो केहीबेर नोबेल शिक्षण अस्पताल अगाडि नजिक टायर बालेर प्रदर्शन समेत गरेका छन् ।

२८ वर्षीय चिकित्सक यादव सप्तरीको राजविराजका स्थायी बासिन्दा थिए । केही वर्षदेखि उनी विराटनगरमा बसेर नोबेलको हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत थिए । यादवको हत्या भएको हो कि हैन प्रहरीले आधिकारिकरुपमा खुलाइसकेको छैन ।

बंगलादेशबाट एमबीबीएस अध्ययन सकेका उनी ४ वर्षदेखि अस्पतालमा कार्यरत रहेको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । नोबेलले मोरङको कटहरीमा शुक्रबार आयोजना गरेको स्वास्थ्य शिविरमा पनि डा. यादव सहभागी भएका थिए । शिविरबाट फर्किएका यादव भोलिपल्ट बिहान मृत फेला परेका हुन् ।

नाक र मुखबाट रगत बगेको तथा शरीरका अन्य भागमा समेत चोट लागेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । डा.यादवको शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ । ६ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

सुरुमा प्रहरीले यादवले घर माथिबाट हाम फालेर आत्महत्या गरेको अनुमान गरेको थियो । घटनास्थलबाट प्राप्त केही प्रमाणले भने आत्महत्याको संकेत नगरेको प्रहरीको भनाई छ । घटनास्थल वरपर आलो रगत भेटिनु, एउटा खुट्टा जुत्ताविहीन तथा शरीरका विभिन्न भागमा चोटपटक हुनुले हत्याको आशंका गरिएको प्रहरी स्रोतको दाबी छ ।

डा. यादवसहित ३ जना विराटनगरको एयरपोर्ट रोडमा रहेको तृष्णा रेस्टुरेन्टमा राति अबेरसम्म बसेको पाइएको प्रहरीले जनाएको छ । मदिरा सेवनसहित खाजा नास्ता गरेर त्यहाँबाट तीनै जना एउटै स्कुटरमा यादवको डेरातिर गएको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७