पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्ध


२० चैत्र २०७८, आईतवार
Simikot Img1

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका-७ धारापोरीमा रहेको नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको पाँच महिना भएको छ । मर्मतमा नेपाल टेलिकम शाखा हुम्लाले वास्ता नगर्दा सेवाग्राहीले पाँच महिनादेखि सास्ती खेप्नु परेको छ ।

गत मंसिरमा बिग्रिएको नमस्ते टेलिफोन टावरको अझै मर्मत हुन सकिरहेको छैन । पाँच महिना टेलिफोन सेवा अवरुद्ध हुँदा उत्तरी नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका अधिकांश गाउँका नागरिक सञ्चारमा जोडिसकेका छैनन् ।
सिमकोट-७ धारापोरीमा रहेको टावरमा खराबी आएका कारण पाँच महिनादेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाको पहुँचबाट टाढा रहेको स्थानीय पाङ्लाथुम गाउँका बासिन्दा सरिता शाहीले गुनासो गरे । धारापोरी टावरमा खराबी आएका कारण दुई गाउँपालिकाका सिमकोट र नाम्खाका केही वडाका सेवाग्राहीलाई समस्या भएको छ ।

धारापोरीको ठाडा ढुङ्गा लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सिमकोटका स्याडा, डाडाँफया, चौगनफाय, धारापोरी, खोल्सी र पाङ्लाथुम तथा नाम्खाका हेप्का, धिगाँ, केर्मी, खगालगाउँ, गाडापारीलगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित रहेको स्थानीयवासी संगीता शाहीले बताइन् ।

टावर मर्मतका लागि नेपाल टेलिकम शाखा सिमकोटमा जानकारी गराउँदा कुनै वास्ता नगरेको स्थानीयवासीले बताएका छन् । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । सिमकोटमा रहेको नमस्ते टावरले कहिलेकाहीं मात्रै काम गर्ने गरेको छ । त्यस क्षेत्रमा रहेको नेपाल टेलिकमको बिटिएसमा गत मंसिरमा आगलागी हुँदा मोबाइल सेवा अवरुद्ध भएको हो । विद्युत् सर्ट भएर आगलागी भएको थियो । लामो समयदेखि आफन्तसँग फोन सम्पर्कमा जोडिन नसकेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७