बेदकोटका मेयर चन्द पाँच वडाध्यक्षसहित एमाले छाडेर नेकपा एसमा आए


२० चैत्र २०७८, आईतवार
bedkot


कैलाली । कञ्चनपुरको बेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित नगर प्रमुखसहित पाँच जना वडाध्यक्ष र २२ जना वडा सदस्यहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेयर अशोक चन्दसहित पाँच अध्यक्ष, कार्यपालिका सदस्य र सदस्यहरूलाई पार्टीमा स्वागत गरेका छन् । गत पुसमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा पल्लवराज भट्टसँग सचिव पदमा पराजित भएपछि पार्टीभित्र असन्तुष्ट बनेका मेयर चन्द माधव नेपाल एमालेमा छँदा उनी निकट नेता हुन् ।

नगर प्रमुखसहित वडा नम्बर ३ का अध्यक्ष तिलक ठकुल्ला, ४ नम्बरका अध्यक्ष भास्कर भट्ट ७ नम्बरका वीर बहादुर डगौरा, ८ नम्बरका दुर्गासिंह भण्डारी र १० नम्बरका केशव रावल एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको वडा नम्बर १० का वडा सदस्य डम्मर भट्टले जानकारी दिए ।

१० वडा रहेको बेदकोट नगरपालिकामा ८ वडा एमालेले जितेको थियो । अहिले ८ मध्ये ५ वडाध्यक्षहरू एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । कार्यपालिका सदस्यहरू निर्मला विष्ट चौधरी, पिंकी दमाईं, माया बोहरा, तारा रैका, दलवीर टमाटा, चेतराम कामी पनि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । वडा नम्बर १ का चारै जना वडा सदस्यहरू पनि समाजवादीमा प्रवेश गरेको भट्टले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७