माधव नेपालसहित १४ सांसदविरुद्ध ओलीद्वारा दायर मुद्दा सरेको सर्‍यै


२० चैत्र २०७८, आईतवार
Madhav nepal 1
फाइल फोटो

काठमाडौं । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेको र त्यसलाई वैधानितकता दिएको विरुद्धमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट निवेदनको पेसी २७ गतेका लागि तोकिएको छ ।

नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालसहितका १४ जना सांसदविरुद्ध ओलीले दायर गरेको मुद्दाको पेसी संयुक्त इजलासमा आइतबार तोकिएको थियो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजासलमा परेको सो मुद्दामा यसअघि गरिएको आदेशका कारण सुनुवाइ हुन सकेन ।

न्यायाधीश सुवेदीले एकीकृत समाजवादीमा रहेका सोमप्रसाद पाण्डे सम्बन्धित मुद्दामा आफूले आदेश दिएको र ओलीले दायर गरेको मुद्दामा पनि पाण्डे प्रतिवादी रहेकाले हेर्न नमिल्ने जानकारी गराएका थिए । ओलीले दायर गरेको मुद्दा सुनुवाइका लागि चैत २७ गते पेस गर्न न्यायाधीश सिन्हा र सुवेदीको इजलासले आदेश जारी गरेको छ । ‘प्रस्तुत मुद्दा इजलासबाट सुनुवाइको मिति तोकि आज पेसी हुन आएको देखिँदा अर्को सुनुवाइको लागि मिति २०७८ चैत २७ गते को पेसी तोकिएको छ,’ आदेशमा भनिएको छ ।

ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका १४ सांसदमाथि कारबाही कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । यसअघि नेपाल पक्षका वकिलले आइतबारको सुनुवाइ सार्नका लागि अघि सारेको निवेदनलाई इजलासले अस्वीकार गरेको थियो ।

नेकपा एकीकृत समाजवादीका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेले दायर गरेको मुद्दामा आइतबारदेखि पूर्ण सुनुवाइ गर्ने भनिएको थियो । तर १४ सांसदको तर्फबाट प्रतिरक्षा गर्ने कानून व्यवसायीहरुले पटक-पटक धकेल्ने प्रयास गरे । अन्तिममा उनीहरु सफल पनि भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७