विश्वकै उच्च स्थानमा फल्ने कालीमार्सी धानको खेती जुम्लामा शुरु


२१ चैत्र २०७८, सोमबार
kalimarsi dhan e3y4tJTmeu

जुम्ला । विश्वकै उच्च स्थानमा उत्पादन हुने अति लोकप्रिय कालीमार्सी धानको खेती जुम्लामा शुरु भएको छ । यहाँका किसानले मार्सी धानको बीउ बेर्नामा राख्न थालेका छन् । चैत मार्सी धानको बीउ राख्ने विशेष महिनाका रूपमा लिइने गरेको स्थानीयवासी कणर्जीत पाण्डेले बताए ।

पछिल्लो समय देश तथा विदेशबाट अत्यधिक रूपमा मार्सी चामलको माग दिन प्रतिदिन बढ्दै गएपछि कालीमार्सी धानको खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ । जुम्ली किसानले कालीमार्सी धानको बीउ राख्दै चैत २० गते विशुव पर्व समेत मनाउने गरेका छन् । जुम्लीले सो दिन कालीमार्सी धानको बीउ बेर्नामा राख्ने परम्परा भएको स्थानीय जानकार रमानन्द आचार्यले बताए ।

चन्दननाथ बाबा र लछालकृति पैकलाले कालीमार्सी धानको उत्पादन गरेको दिनको सम्झनामा विशुव पर्व मनाउने चलन छ । परम्परादेखि नै बाजा बजाएर कालीमार्सी धानलाई बेर्नामा छर्ने गरिँदै आएको छ । चैत १२ गते भिजाएर राखेको धानको बीउ २० गते बेर्नामा बीउ छर्ने धानको चक्र भएको कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले बताए ।

चैतमा बेर्नामा राखिएको बीउलाई जेठ र असारमा खेतमा रोप्ने गरिन्छ । कात्तिकमा धान काटेर घर भित्र्याएपछि धानको ६ महिने चक्र सकिने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कालीमार्सी धानमा ‘ब्लास्ट’ रोगले सताउन थालेपछि अधिकतर जुम्ली किसानलाई कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको चन्दननाथ एक, तीन, लेकाली एक र तीन जातका धानका बीउको धान उत्पादन हुने गरेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७