नेपाल र पीएनजी आज उपाधिका लागि भिड्दै

सन्दीप भन्छन्, ‘श्रृंखला जिताएर सबै समर्थकलाई खुशी दिलाउँछौं’


२१ चैत्र २०७८, सोमबार
Nepal png cricket y4S81MEihK

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको आज (सोमबार) फाइनल खेल खेल्दैछ । फाइनल खेलमा नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल मध्यान्ह १२ः३० बाट शुरु हुनेछ ।

श्रृंखलाको अघिल्ला चार खेलमा सहज जित हात पारेको नेपाल आजको खेलमा जित निकाल्दै उपाधि आफ्नो पक्षमा बनाउने योजनामा छ । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै श्रृंखला आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जानकारी दिएका छन् ।

सन्दीपको कप्तानीमा नेपाले पहिलो पटक घरेलु मैदानमा क्रिकेट श्रृंखला खेलेको हो । कप्तान तथा खेलाडीको रुपमा आफ्नो लागि यो उपाधि निकै महत्वपूर्ण भएको सन्दीपले आइतबार भएको प्रि-म्याच कन्फ्रेन्समा बताएका छन् । ‘म एक खेलाडीको नाताले यो सिरिज एकदमै महत्वपूर्ण छ । म कप्तान भन्दा पहिले टिमको सदस्य हो । जति खुशी अरुलाई लाग्छ मलाई पनि त्यति नै लाग्छ । श्रृंखला जिताएर सबै समर्थकहरुलाई खुशी बनाउनेछौं’, सन्दीपले भने ।

सन्दीपले फाइनल खेलमा कुनै पनि दबाब नभएको बताए । उनले उपाधि जित्नका लागि सबै खेलाडीले आफूले शतप्रतिशत दिने बताए ।

यता पीएनजीका कप्तान असाड भालाले सिरिजका अन्य खेलमा बेहोरेको हारले केही दबाब भए पनि आफूहरु श्रृंखलाको उपाधि जित्नका लागि खेल्ने भएकाले अहिले त्यो दबाब नभएको बताए । ‘कुनै किसिमको दबाब छैन । हामी सिरिज जित्नका लागि मैदान उत्रनेछौं । सिरिजका अघिल्लो तीन खेलमा पराजित भएरपनि फाइनलमा स्थान बनाएका छौं । त्यसैले पनि हाम्रो लागि यो सिरिज निकै महत्वपूर्ण छ,’ भालाले भने ।

पीएनजीले नेपालसँग सिरिजको दुई खेलमा हार ब्यहोरेको थियो । त्यसैले पीएनजी आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ । तर, बलियो टोली नेपालविरुद्ध पीएनजीलाई जित निकाल्न सहज भने छैन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७