मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते


२१ चैत्र २०७८, सोमबार
motorcycle accident 20220404074214

मोरङ । तीन जना चढेको मोटरसाइकल मोरङको बूढीगंगा गाउँपालिका-२ टंकीसिनवारीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १७ प ७६७२ नम्बरको मोटरसाइकल आइतबार राति ९ः२० बजेतिर दुर्घटनामा परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनारका २२ वर्षीय अनिष कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा राति ९ः४५ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए । कार्कीको चिउँडो, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो । दुर्घटनामा परेर मोटरसाइकलमा सवार मोरङको जहदा गाउँपालिकाका २१ वर्षीय सुमन राजवंशी र विराटनगर महानगरपालिकाका १८ वर्षीय रोनिस दाहाल सामान्य घाइते भएका छन् । उनीहरुको विराटमै उपचार भइरहेको छ ।

श्रेष्ठका अनुसार आफै अनियन्त्रित बनेको मोटरसाइकल सडकको छेउमा रहेको पिलरमा ठोक्किएर दुर्घटनामा परेको खुलेको छ । क्षमताभन्दा बढी तीन जना सवार मोटरसाइकल तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मृत्यु भएका चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका कागजात फेला नपरेको श्रेष्ठले बताए । दुर्घटनामा परेर क्षतिग्रस्त बनेको मोटरसाइकल प्रहरी नियन्त्रणमा छ । घटनाको थप अनुसन्धान थालिएको जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७