तीन डीआईजीको रिटमा आज पनि भएन सुुनुवाइ


२१ चैत्र २०७८, सोमबार
aig Badhuwa

काठमाडौं । सरकारले गरेको एआईजी बढुवाविरुद्ध तीन डीआईजीले दायर गरेका रिटमा आज (सोमबार) पनि सुनुवाइ नहुने भएको छ । गोलाप्रथाबाट पेसी तोक्दा न्यायाधीश कुमार रेग्मीकै एकल इजलासमा यी रिट परेपछि हेर्न नमिलेको हो ।

यसअघि आइतबार डीआईजी ईश्वरबाबु कार्कीको रिट पनि रेग्मीको इजलासमा हुँदा सुनुवाइ भएको थिएन । आइतबार अरु दुई डीआईजी घनश्याम अर्याल र प्रकाशजंग कार्कीको पनि रिट दर्ता भएको थियो । सोमबार ती रिट पनि पेशी तोकिएको थियो। बिहीबार नै उनीहरुले पनि रिट दायर गरे पनि दर्ता भने ईश्वरबाबु कार्कीको मात्रै भएको थियो । सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने र इजलास गठन गर्दा रिट रेग्मीकै इजलासमा परेको हो ।

सरकारले वरीयता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै असन्तुष्ट तीन डीआईजीले सर्वोच्चमा रिट दायर गरेका हुन् । वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई सरकारले गत बिहीबार एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनीहरुलाई बढुवा सिफारिस गर्नासाथ तीन डीआईजीले त्यसविरुद्धको सुनुवाइ समितिमा उजुरी गरेका थिए । तर समितिले पनि न्याय नदिएको भन्दै उनीहरुले सर्वोच्चमा मुद्दा हालेका हुन् । तर रिटको सुनुवाइ ढिला भइरहँदा उनीहरुको अवकाश हुने दिन नजिकिँदै गएको छ । तीनै डीआईजी वैशाख १९ गते अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७