विवादले रोकिएको सडक चार वर्षपछि कालोपत्र


२१ चैत्र २०७८, सोमबार
IMG 2131

भक्तपुर । स्थानीय बासिन्दाबीचकै विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको हुलाक मार्ग सडक चार वर्षपछि कालोपत्र भएको छ ।

सात सय मिटर उक्त सडक कालोपत्र गर्नका लागि नगरपालिकाले ६० लाख बजेट विनियोजन गरी ठेक्का गरेर ढलको व्यवस्थासहित कालोपत्र गर्न बेस बिछ्याएपछि स्थानीय दुई पक्षले निकालेको विवादका कारण वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदै आएको सडक कालोपत्र भएको हो ।

उक्त सडकमा विसं २०७४ देखिको विवाद मिलाउँदै सडकको मापदण्डभित्र परेका संरचनामध्ये घर नभत्काउने र पेटी नछाड्ने सहमति गरी सडक सीमाङ्कन सकेर कालोपत्र गर्न सुरु भएपछि आएको नयाँ विवादका कारण कालोपत्र रोकिए पनि अहिले सहमति गरेर सडक कालोपत्र गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठ जानकारी दिए ।

स्थानीयवासीमध्येका एक पक्षले हाइटेन्शन लाइनलाई अन्डरग्राउन्ड गरेर मात्रै सडक कालोपत्र गर्नुपर्छ भन्ने र अर्को पक्ष विद्युत् लाइनलाई अन्डरग्राउन्ड नगरी कालोपत्र गर्नुपर्छ भन्दै विभाजित भएर विरोध गरेपछि अन्डरग्राउन्ड र कालोपत्र गर्ने दुवै काम रोकिएको थियो ।

सडकमा दोहोरो बेस हाल्न ल्याएको ग्राभेलसमेत बिछ्याउन नदिएपछि विरोध गर्दा सडकको बीचबीचमा ग्राभेलको थुप्रो र कतै खाल्डा त कतै ढलको मङ्गल राख्ने ठाउँ खुला रहँदा निकै जोखिम बढेको थियो । खाल्डा पुरेर बेस बिछ्याइएको करिब १० महिनापछि सडक कालोपत्र भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले दुई करोडको बजेट खर्च गर्दै सडकभन्दा पाँच फिट तलबाट अन्डरग्राउन्ड गर्दै हाइटेन्शन लाइन लैजाने गरी स्थानीयवासीसँग सहमति गरेको थियो । विद्युत् अन्डरग्राउन्ड गर्न स्थानीय उपभोक्तासँग करिब रु एक करोड सङ्कलन समेत गरिएको थियो । विवादबीच अन्डरग्राउन्ड गर्ने काम र कालोपत्र गर्ने दुवै रोकिए पनि अन्ततः लामो प्रयासपछि स्थानीयवासीको सहमतिमै सडक कालोपत्र भएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७