कपिलवस्तुका कृषक बगरे खेतीमा


२१ चैत्र २०७८, सोमबार
belauri judda

कपिलवस्तु । कपिलवस्तुको सबैभन्दा ठूलो बाणगङ्गा नदीले बनाएको बगर क्षेत्रमा स्थानीय कृषकले खेती गर्दै आएका छन् । नदीको किनारमा रहेको सुक्खा बालुवामय बगरमा उनीहरुले खेती गरी जीवन निर्वाह गर्दै आएका हुन् ।

चिसो फल तरबुजा, खरबुजा, काँक्रो, घिराँंला, लौका, फर्सी तथा तरकारी उत्पादन गरी आफूहरुले जीवन निर्वाहको माध्यम बनाएको सिहोखोरका किसान रामअसरे केवटले बताए । बगरबाट जीविकोपार्जन गर्न बाध्य रहेका भूमिहीन अन्य किसानले त्यसबाट राम्रो आम्दानी समेत गर्न सफल भएको बताए ।

जिल्लाको बुद्धभूमि, कपिलवस्तु र महाराजगञ्ज नगरपालिका तथा यशोधरा गाउँपालिकाका किसान बगरे खेतीमा संलग्न भएको पाइन्छ । जिल्लामा बाणगङ्गाा नदी किनारमा रहेको धनकौली, चेतरादेइ, विजगौरी, बरगदी, बरगदा, पडरिया, पारसडिहवा र हरदौनालगायत गाउँका कृषक पनि बगर खेतीमा सम्लग्न छन् ।

पडरियाका शिवशङ्कर लोनिया भन्छन्, ‘नदीको बगरमा काँक्रो, तरबुजा तथा लौका, घिरौँला, करेला, फर्सीलगायतको खेतीबाट एक याममा रु ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको छु ।’ चैतको गर्मीमा पनि बालुवाको तापलाई पन्छाउँदै यतिखेर बढी माग भएका फलफूल र तरकारीको स्याहारमा जुटेका बरगदीका पल्टन मुराउले आफूहरुले उत्पादन गरेका फल तथा तरकारीेले राम्रो भाउ समेत पाएको बताए ।

यो बगरमा जस्तै जिल्लाको करिब तीन सय बिघा जमिनमा बगरे खेती हुने गरेको जिल्ला कृषि समन्वय इकाइले जनाएको छ । जिल्लाका किसान यो समयमा बाणगङ्गा नदीको किनारमा रहेको बगरे खेतीतर्फ आकर्षित भएका हुन् । छोटो समयमा विभिन्न तरकारीका जातहरु लगाएर उत्पादन गर्न सकिने भएकाले किसानहरु उक्त खेतीतर्फ आकर्षित भएका हुन् । ती स्थानमा मात्र बगरे खेती भइरहेकामा भारतसँग जोडिएका दक्षिणी गाउँहरुमा समेत यस वर्षदेखि बगरे खेती गर्न थालिएकोे छ ।

हरदैना र कजरहवा, धनकौली महाराजगञ्ज, सिसवा, सिहोखोरलगायत स्थानमा समेत खेती गर्न थालिएको छ । खेर गइरहेको नदी किनारामा सानो लगानी गरेर उत्पादन लिन सकिने भएकाले बगरे खेतीको अवधारणाअनुसार कार्यक्रम सुरु गरिएको किसानहरुले बताए । अझ बीउबिजन सिँचाइ, तालिम पाए तरकारी खेती राम्रो हुने उनीहरुको अपेक्षा थियो ।

जिल्लाको धनकौलीमा सबैभन्दा बढी मात्रामा तरकारी गरिएकामा बिस्तारै अन्य ठाउँमा समेत यसको प्रभाव पर्दै जान थालेको छ । बगरमा बेमौसमी तरकारी र तरबुजाको खेतीबाट बालबच्चाको पढाइ लेखाइ र घर खर्च गरेर पनि वर्षमा ५० हजारदेखि एक लाखसम्म जम्मा हुने गरेका किसानहरुले बताए । नदी किनारमा बलौटे माटो भएकाले तरबुजा, खरबुजा, लौका, करेला, काँक्रा, खुर्सानी, भान्टा, गोलभेंडालगायत विभिन्न किसिमका फलफूल तथा तरकारी खेती यहाँ लगाउने गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७