एमाले पार्टी कार्यालय अत्याधुनिक भवनमा सर्दै, यस्ता हुनेछन् सुविधा


२१ चैत्र २०७८, सोमबार
amale 1

काठमाडौं । नेकपा (एमाले)को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । कार्यालय सचिव डा भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते पार्टी कार्यालय सर्ने जानकारी दिए ।

कार्यालय सञ्चालनका लागि पार्टीले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर नयाँ भवन बनाइएको छ । एक वर्षअघि मात्र धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । नयाँ सार्न थालिएको तुल्सीलाल स्मृति भवनलाई पुनःनिर्माण गरेर अत्याधुनिक बनाउन थालिएको छ । अहिले धमाधम अत्याधुनिक कक्ष निर्माण गर्नुका साथै भवनको रङरोगनसमेत भइरहेको एमाले पार्टी कार्यालय भवन तथा मर्मतसम्भार कमिटीका सदस्य भरत पहाडीले जानकारी दिए ।

उनका अनुसार नयाँ भवनमा पार्टी सञ्चालनका लागि ७३ कार्यकक्ष निर्माण भइरहेका छन् । पार्टी पदाधिकारी, आयोग र विभागका लागि छुट्टाछुट्टै कार्यकक्ष बनाउन थालिएको छ । भुइँ तलामा १३, पहिलो तलामा १३ र दोस्रो तलामा ४७ कार्यकक्ष बनिरहेको भवन निर्माण कमिटीका सदस्य पहाडीले जानकारी दिए । उनका अनुसार नयाँ भवनमा एक ठूलो सभा हल र तीन सभाकक्ष रहनेछ । पार्टी केन्द्र्रीय कमिटी बैठक बस्नका लागि ५०० जना क्षमताको ठूलो हल निर्माण गरिएको छ । तीन महिना लगाएर प्रि इञ्जिनीयर्ड पोर्टल संरचना विधिअनुसार उक्त ५०० क्षमताको हल भवनको पश्चिमतिर बनाउन थालिएको विभागका सदस्य पहाडीले बताए ।

यस्तै मदनभण्डारी स्मृति कक्ष, पुष्पलाल स्मृति कक्ष र मनमोहन स्मृति कक्ष पनि नयाँ कार्यालयमा बनाइएको छ । एमालेले तुल्सीलाल स्मृति प्रतिष्ठानसँग पाँच वर्षका लागि भवन भाडामा लिएको छ । यसैगरी नयाँ सर्न थालिएको भवनमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ ।

पार्टी अध्यक्ष र महासचिवको कक्ष पहिलो तलामा रहनेछ भने दोस्रो तलामा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव र सचिवको कार्यकक्ष रहनेछ । पार्टी अध्यक्षको कार्यकक्षमा अध्यक्षले नियमित बैठक गर्न अलग्गै कक्षसमेत बनाइएको उनले जानकारी दिए । पार्टी अध्यक्ष र महासचिव रहेको पहिलो तलामा नै मदन भण्डारी स्मृति कक्ष (अति विशिष्ट कक्ष) बनाइएको छ । उक्त कक्षमा पार्टी अध्यक्षसँग जोडिएका महत्वपूर्ण बैठक र विशेष बैठक हुनेछन् ।

यस्तै पहिलो तलामा नै पार्टीको सचिवालय, स्थायी र पोलिटब्युरो बैठक गर्नका लागि पुष्पलाल स्मृति कक्ष बनाइएको छ । उनका अनुसार भुइँ तलामा अत्याधुनिक प्रविधिमैत्री मनमोहन स्मृति कक्ष (डिजिटल कक्ष) बनाइएको छ । उक्त कक्षबाट पार्टीको महत्वपूणर् विषय सार्वजनिक गर्न र भर्चुअलरुपमा सात वटै प्रदेशबाट प्रशिक्षण सञ्चालन गर्न सकिन्छ । भुइँ तलामा नै कार्यालय सचिव, कार्यालय र तुल्सीलाल स्मृति केन्द्रीय पुस्तकालय रहनेछ ।

पहिलो तलामा नै आर्थिक विभाग, प्रचार तथा प्रसार विभाग, विदेश विभाग, सङ्गठन विभाग र सल्लाहकार परिषद्का कार्यकक्ष रहनेछन् । यस्तै दोस्रो तलामा अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगसहित विभागका कार्यकक्ष रहने छन् । विसं २०७२ मा गएको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय भत्काएपछि एमाले पार्टी कार्यालय संरचनाका लागि घर भाडामा लिई सञ्चालन भइरहेको छ । भूकम्पले बल्खुस्थित पार्टी कार्यालय भत्काएपछि पार्टी कार्यालय धुम्बाराहीमा रहेको पासाङल्हामु स्मृति प्रतिष्ठानको भवनको घर भाडामा लिई सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७