पोखरा-जनकपुर सिधा उडान शुरु


२२ चैत्र २०७८, मंगलवार
buddha airline

पोखरा । पर्यटकीय नगरी पोखराबाट जनकपुरको सिधा उडान आइतबार शुरु भएको छ । बुद्ध एयरले हप्ताको तीन दिन उडान गर्ने गरी उडान थालेको हो ।

पोखरा-जनकपुर प्रत्येक हप्ता शनिबार, सोमबार र बुधबार उडान गरिने बुद्धका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए । पहिलो चरणमा हप्तामा तीन दिन र यात्रु संख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको बताउँदै उनले हालका लागि १८ सिट क्षमताको जहाजबाट उडान थालिएको जानकारी दिए ।

पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली आज जनकपुर गएको छ । ५० नेटको हवाई यात्रा हुने पोखरा-जनकपुरको उडानमा प्रतियात्रुु सबैभन्दा बढी नौ हजार ३६० र सबैभन्दा कम चार हजार १०० भाडा निर्धारण गरिएको छ । उडानसँगै दुई शहरबीचको प्राकृतिक र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुुग्ने विश्वास लिइएको छ । बुद्ध एयरले केही दिनअघि मात्र पोखराबाट सुदूरपश्चिमको धनगढीसम्म पनि उडान शुरु गरेको थियो ।

त्यस्तै काठमाडौंसँगै भरतपुर, भैरहवा, नेपालगञ्ज, सिमरासम्म उडान गरिरहेको बुद्ध एयरले आगामी केही समयभित्रै पोखराबाट विराटनगर र भद्रपुरसम्म पनि उडान गर्ने तयारी गरेको छ । पहिलो उडानमा सहभागी बनेका गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले अन्तरप्रदेश हवाई सञ्जालले पर्यटन प्रवर्द्धनमा सघाउने विश्वास व्यक्त गरे ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा तीन दिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली जनकपुर गएको हो । गण्डकीका मुख्यमन्त्री पोखरेलको निमन्त्रणामा गत असोज ६ गते मधेश प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखराको भ्रमण गरेको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७